भुवन केसी र श्वेता खड्का कांग्रेस प्रवेश


काठमाडौं — स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा केही कलाकारहरु नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै अभिनेता भुवन केसी, नायिका श्वेता खड्का र रवीन्द्र खड्का पनि कांग्रेस प्रवेश गरेका हुन् ।

अभिनेता भुवन केसीले कांग्रेस प्रवेश गरेको पुष्टि गरेका छन् । ‘सबै पार्टीबाट आफ्नोमा आउन आग्रह थियो । तर सबै कुरा विचार गर्दा लोकतान्त्रिक चरित्रलाई आत्मसात गर्ने पुरानो पार्टी भएको नाताले कांग्रेस ठीक लाग्यो,’ उनले भने । भुवन केसीले पदको आश्वासन पाएर कांग्रेस प्रवेश नगरेको पनि स्पष्ट पारे ।

‘पदको केही कुरा भएको छैन । त्यो भोलि उहाँहरुले हेर्ने कुरा हो । स्थानीय निकायको चुनावको मुखमा थप केही कुरा हुनसक्ने कुरा भएन । पछिको कुरा पछि नै हुन्छ,’ उनले भने ।

पछिल्लो समयमा कलाकारहरुले पनि राजनीतिक दललाई समर्थन गर्ने मात्र नभएर खुलेरै लाग्ने प्रचलन आएकोमा केसी र खड्काद्वय पनि राजनीतिक दलसँग आबद्ध भएका छन् । यद्यपि नवप्रवेशी कलाकार कांग्रेसमा सक्रिय भएर लाग्छन् वा लाग्दैनन् त्यो भविष्यकै विषय रहेको छ । यसअघि नायिका करिश्मा मानन्धन, रेखा थापा नेपालको राजनीतिमा सक्रिय रुपमा देखिएका छन् ।

प्रतिक्रिया