

पुनःकर्जा सुविधा घटाउन आईएमएफको आग्रह

काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीलाई लक्षित गर्दै प्रदान गरेको पुनःकर्जा सुविधा घटाउन आग्रह गरेको छ ।
राष्ट्र बैंकका अनुसार, अहिले परिचालन भैरहेको पुनःकर्जा १ खर्ब ३४ अर्ब रुपैयाँ छ । राष्ट्र बैंकको फन्डेड स्रोतबाट पुनःकर्जा दिन सक्ने क्षमता भने ४८ अर्ब रुपैयाँमात्र हो ।
केन्द्रीय बैंकले कोभिड–१९ महामारीबाट अर्थतन्त्रलाई बचाउन र पुनरुत्थानका लागि नन–फन्डेड स्रोतलाई पनि प्रयोगमा ल्याएको थियो ।
कोभिड–१९ बाट उद्यम तथा व्यवसाय बचाउन साथै पुनर्बहालीमा मद्दत गर्न राष्ट्र बैंकले सस्तो कर्जाको उपलब्धता बढाएपनि अब क्रमशः आर्थिक गतिविधि पुनर्बहाली हुने क्रम देखिएकोले अतिप्रभावित क्षेत्रमा बाहेक अन्य क्षेत्रमा सहुलियत दरको कर्जा प्रवाह गर्न अनुपयुक्त हुने बताइएको छ ।
‘पहिले आईएमएफकै सुझाव अनुसार, महामारीको समयमा सहुलियत प्याकेज ल्याइएको हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अहिले कडाइँ गर्न उनीहरूले आग्रह गरिरहेका छन् ।’
राष्ट्र बैंकले कोभिड–१९ को समयमा २ खर्ब १२ अर्ब रुपैयाँसम्म पुनःकर्जा दिन सकिने बताएको थियो । यद्यपि उच्चतम पुनःकर्जा परिचालन १ खर्ब ६० अर्ब रुपैयाँसम्म पुगेको थियो ।
कोभिड–१९ को समयमा दिएको सहुलियत जारी राखेर जाँदा अर्थतन्त्रमा दबाब सिर्जना भएको भन्दै अर्थतन्त्रको स्थायित्वका मुद्रा प्रदाय कम गर्न ऋणको ब्याजदर केही माथि राख्नुपर्ने आईएमएफको सुझाव छ ।

