

आशा लघुवित्तको नाफा १२.४१ प्रतिशतले बढ्याे

काठमाडाैँ- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १२.४१ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १० करोड ६७ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ३१.८७ प्रतिशतले बढेर २५ करोड ३ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १८ करोड ९८ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे ।
तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १३.०७ प्रतिशतले बढेर १७ करोड ५४ लाख ६९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १५ करोड ५१ लाख ८३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
त्यस्तै, संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँ र जगेडा कोषमा २१ करोड ८३ लाख ६६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी (ईपीएस) २२ रूपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४ पैसा रहेकाे छ ।

