

आइएमई पे क्यान इन्फोटेक २०२२ सुरु

काठमाडौं – आइएमई पे क्यान इन्फोटेक २०२२ सुरु भएको छ । बुधबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको उक्त मेला ६ दिनसम्म सञ्चालन हुने भएको छ । उक्त मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ ।
मेलाको उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गरेका थिए । यस्तै अतिथिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा शुनिलबाबु श्रेष्ठ, क्यानका पुर्व अध्यक्ष सहितका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त मेलामा १२७ वटा स्टलहरु रहेका छन् ।
ब्राण्डिङ खण्डमा सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहेको छ ।
फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यससम्बन्धी उत्पादनहरू रहेका छन् । स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् ।
आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।
यस बाहेक क्यान इन्फोटेक २०२२ मा रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजि, वाइफाइ तथा इण्टरनेट लगायतका कुराहरू रहनुका साथै व्यवसायीहरूले सफ्टवेयरहरू, नेटवर्किङ र क्लाउड सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम सोल्युशन, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरू प्रदर्शनी तथा बिक्रीमा राखेका छन् ।
त्यसैगरी, आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा छन् ।

