तीन कम्पनीले साढे ३२ करोडको आईपीओ निष्काशन गर्न सेबोनसँग मागे अनुमति


काठमाडौँ – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति माग गर्दै थप ३ वटा कम्पनीले आवेदन दिएका छन् ।  कालिञ्चोक दर्शन लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटेल लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएका हुन् । यी कम्पनीहरुले ३२ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको आईपीओ निष्काशनका लागि आवेदन दिएका हुन् ।

कालिञ्चोकले चैत्र १५, हाथवेले चैत्र २५ र सिटी होटलले चैत्र ३० गते आवेदन दिएका सेबोनले जनाएको छ ।   कालिञ्चोकले आयोजना प्रभावित र सर्वसाधारणहरुका लागि १२ करोड रुपियाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले दोलखाको सदरमुकाम चरिकोटबाट कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन गरिरहेको छ । आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

यता हाथवेले प्रति कित्ता अंकित मूल्य ५० रुपियाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई यसअघि नै बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

त्यस्तै सिटि होटेलले प्रति शेयर अंकित मूल्य रु. १०० रहेको १६ करोड ७४ लाख बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्काशनको अनुमति मागेको mहो । यसअघि नै कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।  कम्पनीले गत कात्तिक १५ गतेबाट सोल्टिमोडमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया