
श्रीलंकामा सेयर बजार ५ दिनका लागि बन्द
काठमाडौँ – श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएको छ । हार्ड डिफल्ट हुनबाट जोगिनका लागि श्रीलंकाले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो ।
यसबीच श्रीलंकामा सेयर बजार ५ दिनका लागि बन्द गरिने भएको छ । श्रीलंकाको मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’ भोलि अप्रिल १८ बाट ५ दिनका लागि बन्द गरिने घोषणा गरिएको छ ।
श्रीलंकाको धितोपत्र आयोगले देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर कोलम्बो स्टक एक्सचेन्जलाई यस्तो आदेश दिएको हो । आयोगले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स्टक एक्सचेन्जका बोर्ड सञ्चालक र अन्य सेयरधारकले बजारलाई अस्थायी रुपमा बन्द गर्न आग्रह गरेका छन्।’
विज्ञप्तिमा उनीहरुको धारणालाई विचार गरी देशको वर्तमान अवस्थाले सेयर बजारमा पार्ने प्रभावको मूल्यांकन गरिएको जनाइएको छ। ‘त्यसपछि मात्रै यो बजार बन्द निर्णय लिइएको हो’, विज्ञप्तिमा भनिएको छ।
श्रीलंकाको एक प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र अन्य ऋणदाताबाट ४ अर्ब डलर सहयोगका लागि वासिङ्टन गएको छ। कुल ८१ अर्ब डलरको अर्थतन्त्र भएको श्रीलंकामा यस वर्ष ८ अर्ब ६ करोड डलर ऋणको दायित्व छ । तर, श्रीलंका सरकारले केही समयका लागि सबै वैदेशिक ऋणको भुक्तानी स्थगित गरेको छ ।



कागजपत्र |
