आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पन्ध्रौँ दरबारमार्ग महोत्सव आयोजना


काठमाडौं –  राजधानीको दरबारमार्गमा ‘१५ औँ दरबारमार्ग सडक महोत्सव’ आयोजना गरिएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थान गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, रेष्टुराँ एण्ड बार एशोसिएशन नेपाल (रेबान) र दरबारमार्ग विकास बोर्डको आयोजना भएको महोत्सव शनिबारसम्म चल्ने छ ।  ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा नेपाली उत्पादन, स्थानीय परिकार र नेपाली कला संस्कृतिको प्रदर्शन गरिएका छन् ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्याउने महोत्सवको मूल उद्देश्य रहेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिडबाट शिथिल साना मझौला उद्यम तथा पर्यटन उद्योगलाई महोत्सवले जागरुक बनाउने आयोजकको विश्वास छ । शारीरिकरुपमा भिन्न क्षमता भएका तथा महिला उद्यमीले उत्पादन गरेका हस्तकलाका वस्तु प्रदर्शनीमा राखिएका छन् । महोत्सवस्थलमा ६० वटा विभिन्न स्टल छन् ।

दरबारमार्गको दक्षिण क्षेत्रको महेन्द्र शालिकसम्म र उत्तरतर्फ नारायणहिटी सङ्ग्रहालयको गेटको ट्राफिक पोलसम्मको क्षेत्रमा विभिन्न स्टल राखिएको छ । महोत्सवमा सातै प्रदेशका संस्कृति झल्कने विभिन्न जातजातिका कला संस्कृति, गीतसङ्गीतका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रहेका छन् ।

विभिन्न नेपाली खानाका परिकार र स्वदेशी उत्पादनका विशेष प्रदर्शन÷प्रस्तुतिका स्टल, बालबालिकाका लागि छुट्टै किडस् जोन पनि महोत्सवमा राखिएका छन् ।

प्रतिक्रिया