७५ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप, ३ शिक्षक पक्राउ


काठमाडौँ– मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविका छात्राहरुलाई यौन दुव्यर्वहार गरेको आरोप लागेका ३ जना शिक्षक पक्राउ परेका छन्। विद्यालयका धेरै छात्राले आफूहरुलाई शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यालय प्रशासनमा उजुरी दिएपछि प्रहरीले आरोपी तीनजना शिक्षकलाई पक्राउ गरेको हो।

आरोपी हेमबहादुर विक चैत २५ गते आफैँ प्रहरी कार्यालयमा पुगेर गिरफ्तारी दिएका छन्। आरोपी लोकबहादुर विक र रुद्रबहादुर विकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

‘आरोपी तीनैजना शिक्षकलाई जिल्ला प्रहरी कार्यलय हेटौंडाको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ,’ कार्कीले भने।

आरोपी शिक्षकहरुले लामो समयदेखि आफूहरुलाई यौन दुर्व्यवहार गर्दै आएको छात्राहरुको गुनासो छ। बालिकाहरुले आफूहरुलाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै धेरै समय अघि नै विद्यालयमा लिखित उजुरी समेत दिएका थिए।

तर, विद्यालय प्रशासनले घटनालाई सामसुम पार्ने प्रयास गरेपछि विद्यार्थीहरुले चैत २२ गते विद्यालयमा तोडफोड र तालाबन्दी गरेका थिए।

शिक्षकहरुले आफूहरुलाई गलत नियतले संवेदनशील अंगमा समाउने, चलाउने गरेको आरोप ७५ जना छात्राको आरोप छ।

प्रतिक्रिया