कञ्चनपुरमा महिलाको शव फेला, झाँक्रीसहित सातजना पक्राउ


धनगढी – कञ्चनपुरमा आज (शनिबार) एक महिलाको शव सडेको अवस्थामा फेला परेको छ। त्यो शव कञ्चनपुरको वेदकोट नगरपालिका-७ मुसेपानी बस्ने ४३ वर्षीया रञ्चुला साउदको रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार नातेदार पर्ने स्थानीय कमला साउदको घरको आँगनमा रन्चुलाको शव फेला परेको हो। शव सडिसकेको अवस्थामा रहेको प्हरीको भनाइ छ। शव त्यसरी फेला पर्नुमा रन्चुलाको मृत्यु शंकास्पद हुन सक्ने प्रहरीको भनाइ छ।

घटना शंकास्पद देखिएपछि सातजनालाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा दुई धामीझाँक्रीसहित सातजना स्थानीय छन्। ती धामीझाँक्री कञ्चनपुरको भीमदत्त–७ बस्ने धर्मानन्द भट्ट र भीमदत्त–१ बस्ने नारायणदत्त भट्ट रहेको प्रहरीले जनाएको छ।

झारफुक गर्ने क्रममा कुटपिट गरेर महिलाको हत्या गरेको आरोप उनीहरूमाथि लागेको छ। त्यसैगरी पक्राउ परेका अन्य भने परिवारकै सदस्य भए पनि प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन।

शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ। स्थानीयले घटना शुक्रबार साँझ भएको बताए पनि शव सडिसकेको अवस्थामा भेटिएकाले अनुसन्धानपछि मात्र थाहा हुने प्रहरीले बताएको छ।

प्रतिक्रिया