कर्पोरेट डेभलपमेन्ट बैंक सिलबन्दी बोलपत्र आज खुल्ने
काठमाडौं – कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयर बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आज खुल्ने भएको छ । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर बिक्रीको लागि गोप्य सिलबन्दी बोलपत्र माग गरेको थियो ।
बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौंमा दिउँसो १ बजे गोप्य सिलबन्दी बोलपत्र खोलिने जानकारी कम्पनीले दिएको छ ।
कम्पनीले यस अघि माघ ७ गतेदेखि फागुन १३ गतेसम्म १५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको १ लाख २० हजार १२० कित्ता हकप्रद शेयर लिलामीमा बिक्री गरेको हो ।
प्रतिशेयर १ सय रुपैयाँ तोकिएको यो शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
यस शेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हाल २० करोड चुक्ता पूँजी रहेको कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर बिक्री गरेको हो ।