अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा जटिलता : उद्योग संगठन मोरङ


काठमाडौँ — उद्योग संगठन मोरङले अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्र जटिलतामा जान सक्ने भन्दै चिन्ता जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेपछि संगठनले अर्थतन्त्र थप जटिल हुनेतर्फ चिन्ता व्यक्त गर्दै विज्ञप्ति जारी गरेको हो ।

तरलता व्यवस्थापन, वैदेशिक मुद्राको सञ्चिति तथा आयात निर्यात सहजीकरणका लागि नीतिगत निकाय र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनु पर्नेमा अविश्वासको वातावरण सृजना हुन गएको संगठनको भनाइ छ ।

लामो समयदेखि वित्तीय क्षेत्रमा तरलता अभाव, बढ्दो ब्याजदर तथा युक्रेन–रूस द्वन्द्वबाट अन्तराष्ट्रिय बजारमा भएको मूल्यवृद्धि जस्ता आन्तरिक एवम् बाह्य परिस्थितिजन्य कारणहरूले गर्दा मुलुकको समग्र अर्थतन्त्रका सूचकहरू संकटको दिशामा उन्मुख भएको संगठनले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तो बेला नेपाल सरकार, अर्थ मन्त्रालय एवम् नेपाल राष्ट्र बैंक लगायतले निजी क्षेत्र समेतलाई विश्वासमा लिई निकास दिनुपर्नेमा मूख्य संस्थाहरूबीच समन्वय अभाव हुँदा अर्थतन्त्र थप जटिलतातर्फ जानसक्ने चिन्ता संगठनले व्यक्त गरेको हो । तरलता व्यवस्थापन, वैदेशिक मुद्रा सञ्चिति तथा आयात निर्यात सहजीकरण निम्ति नीतिगत र नियमनकारी निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा असमञ्जस्य तथा अविश्वासको वातावरण निम्तिनुलाई संगठनले दुःखद भनेको छ ।

हाल निम्तिएको असमझदारीले अन्तराष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तराष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरू चाल्न संगठनले सरकारलाई आग्रह गरेको छ ।

संगठनले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘अर्थतन्त्रको अवस्था राम्रो नभएको यस संकटोन्मुख अवस्थामा नीतिगत तथा नियमनकारी निकायबीच देखापरेको यस प्रकारको असमझदारीले अन्तर्राष्ट्रिय जगतमा नकारात्मक सन्देश जाने र नेपालले गर्ने अन्तर्राष्ट्रिय व्यापारमा समेत असर पर्नेतर्फ बेलैमा सचेत भई उपयुक्त कदमहरु चाल्न सरकारलाई आग्रह गर्दछाैं ।’

 

प्रतिक्रिया