
अवैध रुपमा युरोप जाँदै गरेका ३७ नेपाली टर्कीमा पक्राउ, तीन जना छुटे अरु सबै प्रहरीकै नियन्त्रणमा
काठमाडौँ– अवैध रुपमा युरोप छिर्न खोज्दा टर्कीबाट ३७ जना नेपाली पक्राउ परेका छन्। टर्कीबाट अवैध रुपमा ग्रिस छिर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ।
टर्किस प्रहरीले इस्तानबुलस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सबै नेपाली गएको सोमबार मध्यरातमा अवैध रुपमा ग्रिस छिर्ने तयारीमा रहेका प्रहरीले जनाएको छ।
पक्राउ परेका ३७ मध्ये तीन जनालाई कागजपत्रका आधारमा प्रहरीले छाडेको छ। पक्राउ परेका अन्य ३४ जना भने प्रहरी नियन्त्रणमै रहेका टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ।
ग्रिस छिर्ने तयारी अनुसार एउटा घरको पाँचौं तल्लामा धेरै नेपालीहरु जम्मा भएर बसेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
उनीहरुले संगठित मानव तस्करका एजेन्टलाई मोटो रकम बुझाएर अवैध रुपमा युरोप छिर्ने प्रयास गरेका टर्कीस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष उज्जवल कुमार घिसिङले जानकारी दिएका छन्।
गएको कात्तिकमा टर्कीबाट ग्रिस छिर्ने क्रममा भएको गाडी दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको थियो।



कागजपत्र |
