दुर्गमलाई सुगम बनाउने योजना अघि सार्नुपर्छः गृहमन्त्री खाण


म्याग्दी – गृहमन्त्री बालकृष्ण खाणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन् ।

म्याग्दीको धौलागिरी गाँउपालिका वडा नं १ को विकट गाँउ बुर्जामा शुक्रबार पुगेका गृहमन्त्री खाणले विकट स्थानलाई सुगम स्थानमा परिणत गर्न पहल गर्ने बताएका हुन् ।

‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ गृहमन्त्री खाणले भने, ‘बुर्जा जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु ।’

हिमालको फेदमा कडो कष्ट सहेर बसिरहेका नेपालीहरूले नेपाली भूमि, राष्ट्रियताको रक्षा गरिरहेको भन्दै उनले प्रशंशा गरे । हिमाल र तराईका मुलुकको सिमानामा बसेर नेपालको भूमि, राष्ट्रियता र सार्वजनिक सम्पत्तिको रक्षा गर्ने नेपालीहरूलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाई थियो ।

विकट गाँउमा मानवबस्ती भयो भनेर सुगममा सार्ने योजना ल्याउने गृहकार्यमा लाग्नु भन्दा दुर्गमलाई नै सुगम बनाउने योजना ल्याउनु उपयुक्त हुने गृहमन्त्री खाणको भनाइ थियो । ‘दुर्गम स्थानमा भयो भनेर बस्ती सार्ने होइन । विकटतामा पनि हामीले सुगमता खोज्ने योजना ल्याउने हो । नयाँ सम्भावना के हुनसक्छ, खोज्ने हो,’ गृहमन्त्री खाणले भने, ‘यहाँ विकट भनेर छोड्ने हो भने यहाँको भूमि, नदीनाला, र सार्वजनिक सम्पत्तिको जगेर्ना कसले गर्ने ? यही विकट स्थानलाई सुगम बनाउन सरकारले पपहल गर्छ ।’

प्रतिक्रिया