

देशका ३ विमानस्थलमा ‘कन्भेयर बेल्ट’ निर्माण प्रक्रिया शुरु

काठमाडौं – देशका तीनवटा विमानस्थलमा ‘कन्भेयर बेल्ट’ को सुविधा थप गर्ने प्रक्रिया बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगञ्ज र धनगढी विमानस्थलमा एकैपटक कन्भेयर बेल्ट निर्माणको प्रक्रिया अगाडी बढाएको हो।
विमानस्थलमा जहाजबाट यात्रु ओर्लिएपछि सामानका लागि पर्खनुपर्ने समस्या अन्त्य गर्न बेल्ट निर्माणको प्रक्रिया शुरु गरिएको हो। आन्तरिक विमानस्थलको सेवा सुदृढ गर्दै लैजाने योजनाअनुरुप ३ विमानस्थलमा कन्भेयर बेल्ट निर्माणको लागि बोलपत्र आह्वान गरिसकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक प्रधुम्न अधिकारीले बताए।
विमानस्थलभित्रको प्राविधिक सुविधा अभिवृद्धिका लागि अन्तराष्ट्रिय मापदण्ड अनुरुपको सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। ३ वटै विमानस्थलमा विस्तार गरिने कन्भेयर बेल्ट ४० मिटर लम्बाइको हुने जनाइएको छ।
यसले १ घण्टामा २ हजार ४ सय ‘ब्यागेज’ क्लियर गर्न सकिने छ। सामान्यतः कन्भेयरको १ मिटरको दूरीले ७५० केजी क्षमताको ब्यागेज क्लियर गर्दछ। विमानस्थलमा यो सेवा विस्तारसँगै यात्रुलाई ब्यागेज लिन सहज र छिटो हुनुका साथै सरसफाइमा समेत सहयोग पुग्ने बताइएको छ।
प्राधिकरणले ३ वटै विमानस्थलमा विस्तार गर्ने कन्भेयर बेल्ट, बोलपत्रको सूचना सामूहिक रूपमा प्रकाशित गरिएको थियो। उप-प्रबन्धक अधिकारीका अनुसार हालसम्म ४ वटा कम्पनीले बोलपत्र पेश गरेका छन्।

