बिलकिस दादीलाई भेट्न चाहन्छिन् वन्डर वुमन


लसएन्जल्स(एजेन्सी)–हलिउडकी ‘वन्डरवुमन’का रुपमा परिचित अभिनेत्री गेल गडोटले शाहीन बागकी बिलकीस दादीसँग भेट्ने इच्छा व्यक्त गरेकी छन् । गेलले नयाँ वर्षमा केही महिलाको तस्बिर सार्वजनिक गरेकी छन्, जसलाई उनी सन् २०२० को वन्डरवुमन मान्छिन् । त्यहीकारण उनले बनाएको एक विशेष सुचीमा शाहीन बानवाली दादी पनि परेकी छन् । पोस्टमा गेलले कैयौं अन्य महिलाको तस्बिर पनि शेयर गरेकी छन् । जसको क्याप्सन उनले ‘ह्यासट्यागमाइपर्सनलवन्डरवुमन’ लेखेकी छन् ।

‘सन् २०२० लाई बिदा भन्दै मेरो ह्यासट्यागमाइपर्सनलवन्डरवुमनलाई मेरो धेरै माया । यसमा केही मेरा नजिकका छन्, जो मेरो परिवार र मेरा साथी हुन् । केही प्रेरणादायी महिला छन्, जसको बारेमा जानकारी पाएर म खुशी छु । केही ती महिला छन्, जसमा म भविष्यमा भेट्ने आशा राख्दछु । हामी मिलेर धेरै राम्रा काम गर्न सक्छौं । तपाईं पनि आफ्नो वन्डर वुमनलाई मसँग शेयर गर्नुहोला’, उनले लेखेकी छन् ।

गत वर्ष शाहीन बागको प्रदर्शनमा बिल्किस दादीको नाम निकै चर्चामा आयो । भारतमा भएको नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शनमा ८२ वर्षीया दादीले धर्नामा प्रदर्शनमा आफ्नो विशेष उपस्थिति जनाएकी थिइन् । जसकारण उनले सबैको ध्यान आफूतिर तानेकी थिइन् । यहाँसम्मकी उनलाई शाहीन बागको दादीसम्म भन्न थालिएको थियो । टाइम पत्रिकाले सन् २०२० को सय प्रभावशाली महिलामा उनलाई पनि राखेको थियो ।

प्रतिक्रिया