दोहोरो अंकले घट्याे नेप्से, ३ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं – साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) दोहोरो अंकले घटेको छ ।  सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ७२ अंकले घटेको छ ।

दिनभर भएका ३७ हजार ४२९ कारोबारबाट ३७ लाख ८७ हजार ४५ कित्ता धितोपत्र कारोबार भए । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६८६ रुपैयाँको कारोबार भयो ।

ब्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सो उपसमूह १८ अंक बढ्यो ।  बैंकिङ ६, होटल तथा पर्यटन ७९, विकास बैंक १०३, जलविद्युत ५६, फाइनान्स ५७, निर्जीबन बीमा ३९, उत्पादन २७, अन्य २६ र माइक्रोफाइनान्स ४५ र जीवन बीमा उपसमूह १७९ अंक घटे ।

घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो । आज इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार २२४.८० पुगेको हो । यस्तै,राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य क्रमश  १ हजार ३१९.५० र १ हजार ५५.७० पुगेको छ । यसैगरी, युनाइटेड इदी मर्दीको ७.९० प्रतिशतले बढेर १ हजार १३३ र बोटर्स नेपालको ५.३० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १४ हजार ५०० पुगेको छ ।

बिहीबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड २३ लाख ८४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

 

प्रतिक्रिया