बम विस्फाेटमा परि रामेछापमा एक जना गम्भीर घाइते


रामेछाप – रामेछाप नगरपालिका-४ हिमगङ्गाको धारापानी बसेरीमा रहेकाे लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

बम विस्फोट हुँदा हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिए। घाइते श्रेष्ठको काठमाडाैंकाे टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

उनका अनुसार माछा मार्न विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेकाे हाे ।

प्रहरीले नियन्त्रणमा लिइएका तीन जनालाई विस्फाेटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरी म्याद थपसहित कारबाहीका लागि अनुसन्धान बढाइने जनाएको छ ।

प्रतिक्रिया