

मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा

काठमाडौं – विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको बताएकी छन् ।उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि खाद्य सङ्कट पनि बढ्ने खतरा देखिएको छ।
खाद्य पदार्थमा भएको मूल्य वृद्धि र खाद्य सङ्कटको असर सबैभन्दा बढी गरिब देशहरूमा पर्न सक्ने पनि उनको भनाइ छ। “यस बारेमा हामी धेरै चिन्तित हुनुपर्दछ भन्ने मलाई लाग्छ, यसको असर विषेश गरेर गरिब मुलुकहरूमा बढी पर्दछ,” उनले भने।
खाद्य पदार्थको मूल्य वृद्धि र खाद्य सङ्कटका कारण ठूलो मानवीय क्षति समेत हुन सक्नेमा पनि उनको चिन्तारहेको छ। विश्वका धेरै देशमा खाद्य सङ्कटसँगै उर्जा सङ्कट पनि मुख्य समस्याका रुपमा देखिँदै गएको र यो अझ बढ्न सक्ने बताइएको छ।
उर्जा सङ्कटका रुपमा उनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावलाई समेत संकेत गरिन्। द गार्जियनसँगको अन्तरवार्ताका क्रममा महानिर्देशक ओकोन्जोले दुवै सङ्कटबाट सबैभन्दा बढी पीडित हुने नै गरिब मानिस भएकाले त्यस तर्फ विश्वको ध्यान जानु पर्नेमा जोड दिइन्।

