शंखमुलमा एक युवकलाई खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ


काठमाडौं – ज्यान मार्ने उद्देश्यले ललितपुर महालक्ष्मी डेरा गरी बस्ने २५ वर्षीय युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं जडिबुटी बस्नेहरु रामेछाप मन्थली नगरपालिका १३ घर भएका १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी गाउँपालिका ३ घर भएका २७ वर्षीय संजिव मोक्तान, दोलखा नाम्दु गाउँपालिका ६ घर भएका ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका ९ ठेगाना भएका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे गाउँपालिका ९ ठेगाना भएका २३ वर्षीय प्रविण नेपाल रहेका छन् ।

काठमाडौं शंखमुलमा ८/९ जनाको समूहले आर्थिक कारोवार तथा प्रेम सम्बन्धी विषयलाई लिएर ती पुरुषलाई खुकुरी प्रहार गरी गम्भीर घाईते बनाई फरार भएको घटनाको अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट घटनामा प्रयोग भएको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ । उनीहरुलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया