कुलमान भन्छन्– लोडसेडिङ हुँदैन, हुन पनि दिँदैनौं


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा लोडसेडिङ नहुने र हुन पनि नदिने बताएका छन्।

उनले भने, ‘युक्रेनमाथि रूसले गरिरहेको आक्रमणका कारण भारतमा पनि विद्युत्‌ उत्पादनमा असर परिरहेको छ। जसले गर्दा भारतले यसअघि दिंदै आएको विद्युत् बन्द गरेको छ। यसले नेपालमा पनि विद्युत्‌को आपूर्तिमा असर परेको छ।’

भारतबाट विद्युत्‌ आपूर्ति बन्द भएपछि विद्युत्‌ प्राधिकरणले केही ठूलो उद्योगमा विद्युत्‌ कटौती गरेको थियो। त्यसलाई लिएर लोडसेडिङ हुने हल्ला चलेको वेला प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलन गरेर लोडसेडिङ नहुने बताएका हुन्।

साना उद्योग तथा घरायसी उपभोगका लागि विद्युत्‌ आपूर्ति कटौती नभएको उनले बताए। अन्तर्राष्ट्रिय उत्पादनमा देखिएको समस्याले पनि नेपाललाई असर नगर्ने उनको भनाइ छ।

घिसिङले भने, ‘हामीले महँगोमा किनेर भए पनि लोडशेडिङ हुँदैन, घरायसी ग्राहक, साना र ठूला कुनै पनि उद्योगमा लोडशेडिङ गर्दैनौँ, सबै जना ढुक्क हुनुहोला लोडशेडिङ हुँदैन, हुन पनि दिंदैनौं।”

यस्तै उनले ठूला उद्योगलाई कटौती गरेको विद्युत्‌को आपूर्ति पनि आज दिउँसो १२ बजेदेखि शुरू गरिसकिएको बताए। “अन्तर्राष्ट्रिय समस्याका कारण तत्कालका लागि विद्युत्‌ आपूर्तिमा कठिनाइ भएको हो, यो समस्या हल भइहाल्छ।”

भारतले कोइलाबाट उत्पादन भएको बिजुली मात्रै नेपालमा निर्यात गर्ने नीति बनाएको छ, अहिले रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको भाउ बढ्दा नेपालले बिजुली महँगोमा किन्नुपरेको कार्यकारी निर्देशक  घिसिङले बताए ।

“अहिले हामीले ३० प्रतिशत मात्रै आपूर्ति गरिरहेका छौं, त्यो पनि चार महीना मात्रै हो,” घिसिङले भने, “आठ महीना हामी हाम्रै उत्पादनले धानिरहेका छौं। जेठपछि हामीलाई कुनै समस्या हुँदैन। बरु असारपछि ४०० मेगावाट विद्युत्‌ बढी हुन्छ, बेच्नुपर्छ।”

प्रतिक्रिया