नारायणी डेभलपमेन्ट बैंकको १ लाख ४५ हजार कित्ता संस्थापक शेयर लिलामी


काठमाडाैँ- नारायणी डेभलपमेन्ट बैंकले अवितरित हकप्रद लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकले गत फागुन ७ गतेदेखि माघ १२ गतेसम्म हकप्रद निष्कासन गरेको थियो ।

जसमा बिक्री नभएको संस्थापक समूहको १ लाख ३१ हजार ९९८ कित्ता र सर्वसाधारण समूहको १३ हजार ६५१ कित्ता गरी कुल १ लाख ४५ हजार ६४९ कित्ता सेयर भोलि चैत १० गतेबाट लिलामीमा राख्ने भएको हो ।

लिलामीमा राखिने सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्था वा कम्पनीले बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्यामा कुनै हद लाग्ने छैन ।

लिलामीमा राखिने सेयरको मूल्य प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति चैत १७ गते बैंकिङ समयसम्म तोकिएको छ ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्न सकिनेछ। त्यस्तै ग्लोबल आइएमई बैंकका शाखाहरु बिर्तामोड, विराटनगर, जनकपुर, वीरगन्ज, हेटौँडा, नारायणगढ, न्युरोड (पोखरा), बुटवल, बागलुङ, नेपालगन्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगरमा पनि आवेदन पेस गर्न सकिनेछ।

 

प्रतिक्रिया