

चैत २५ गतेदेखि अपि पावरले १ अर्ब ८ करोडको हकप्रद शेयर निष्काशन गर्ने

काठमाडाैं – अपि पावर कम्पनी लिमिटेडले चैत २५ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ कित्ता शेयर बराबर नयाँ ०.३९३६ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद जारी गर्नेछ । हकप्रद शेयर प्रयोजनका लागि चैत १४ गते एक दिन बुक क्लोज गरिने जानकारी दिएको छ । बुक क्लोजको आधारमा चैत १३ गतेसम्म कायम शेयरधनीले मात्र अपिको हकप्रद शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
अपिले २०७८ साल असोज २५ गते यो हकप्रद निष्कासनको लागि बोर्डमा निवेदन दिएको थियो । कम्पनीले फागुन २६ गते बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार रुपैयाँ रहेको छ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
अपि पावरले निर्माणाधित ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद निष्कासन गर्न लागेको हो ।

