घुससहित पक्राउ परेका मेयर पटेल धरौटीमा रिहा


रौतहट – रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख (मेयर) धर्मेन्द्र प्रसाद पटेल आफ्ना सहयोगी सहित २३ औं दिन धरौटीमा रिहा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसंधान कार्यालय काठमाडौको बिशेष अदालतमा सोमबार ४ लाख रुपैया धरौटीमा मेयर पटेल र उनका सहयोगी अशोक पटेल रिहा भएका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर पटेलविरुद्ध भ्रष्टाचारको कसुरमा आइतबार विशेषमा अदालतमा मुद्धा दर्ता गरेको थियो ।

बिशेष अदालतमा मुद्दा दर्ताभएको भोलिपल्ट सोमबार माग अनुसारको ४ आख रुपैया धरौटी राखेर मेयर पटेल र उनका सहयोगी हिरासत मुक्त भएको जिल्ला समन्वय समिति रौतहटका उपसभापति रामबशिस्ट यादवले जानकारी दिए।

मेयर धर्मेन्द्र पटेल,सहयोगी अशोक पटेल र २ जना नगरपालिकाका कर्मचारी गरि ४ जनालाई फागुन १५ गते हेटौडाबाट गएको अख्तियारको टोलीले दुईलाख ५० हजार नगद र त्यतिकैको चेक सहित नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। पक्राउ परेका ४ जना मध्ये देवाही गोनाही नगरपालिकाका २ जना कर्मचारी भने यस अघिनै छुटिसकेका थिए।

अनुसन्धानका क्रममा मेयर पटेलले उपभोक्तामार्फत भएको भवन निर्माण पश्चात अन्तिम भुक्तानी दिन घुस मागेको पाइएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताएका थिए। तर मेयर पटेल तथा उनका पक्षधरहरुले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

पटेलले घुस मागेको सूचनाको आधारमा अख्तियारले उनिविरुद्ध अप्रेशन चलाएर छापामारी गर्दा उनि आफ्नो एकजना सहयोगसँगै रकम र चेकसहित पक्राउ परेका थिए । सोमबार धरौटीमा रिहा भएपनी मुद्दाको प्रक्रिया अन्तिम फैसला नभएसम्म जारी रहने अख्तियारले जनाएको छ।

प्रतिक्रिया