आठ महिनामा २८ अर्ब १७ करोडको सुन नेपाल भित्रियो
काठमाडौं – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा २८ अर्ब १७ करोड रुपैयाँ बढीको सुन भित्रिएको छ । २०७८ साउनदेखि फागुनसम्म २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ सुन नेपाल भित्रिएको हो । सो मूल्यमा ४ हजार ४४.५ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट मात्र सुन भित्रिएको छ । सो अवधिमा टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ र युएईबाट २२ अर्ब २४ करोड ४४ लाख ७८ हजार रुपैयाँको सुन नेपालमा आएको छ ।
पोहोर पूरा वर्षमा भित्रिएको सुन अहिले आधा वर्षमै भित्रिसकेको र त्यति नै रकम बाहिरिइसकेको छ। यो आर्थिक वर्षको ४ महिना बाँकी नै छ। यो अवधिमा हामीकहाँ बिहेको सिजन पनि पर्छ। त्यसकारण सुन आयात अझै बढ्ने देखिन्छ। सुनको भाउ पनि पोहोरभन्दा धेरै नै बढेको छ । भाउ बढ्ने र आयात सहज हुने हो भने पोहोरभन्दा सुन आयात दोब्बर हुने निश्चित छ।
यसरी ठूलो रकम विदेसिने र अत्यावश्यक वस्तु नभएकाले राष्ट्र बैंकले अहिले सुन आयातको कोटा कम गरेको हो। अर्कातिर अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ। यी तिनै वस्तुको भाउ एकअर्काको भाउमा निर्भर हुन्छ।
विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले सुनको भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिकरत्न शाक्य बताउँछन्। उनका अनुसार खानीबाट सुन प्रशोधन गर्न अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ प्रयोग हुन्छ। त्यसैले पेट्रोलयमको भाउ बढ्दा सुन प्रशोधन खर्च बढ्छ अनि भाउ पनि बढ्छ ।
शाक्यका अनुसार ठूला र बलिया देश लडाइँमा लागेपछि जहीँकहीँका उद्योगी तथा लगानीकर्ताको मनोबल गिर्छ। त्यसैले उनीहरू आफूसँग भएको पैसा उद्योगधन्दामा लगानी गर्दैनन्। बरू सुनजस्ता सम्पत्ति किनेर राख्छन्। त्यसले गर्दा बजारमा सुनको माग अझै बढ्छ। माग धेरै हुँदा मूल्य स्वाभाविक रूपमा बढ्न जान्छ।
फागुन १२ गते अर्थात् फेब्रुअरी २४ देखि रूसले युक्रेन माथि सैन्य हमला गरेको थियो। उक्त दिन नेपाली बजारमा सुन प्रतितोला ९९ हजार रूपैयाँमा कारोबार भइरहेको थियो। त्यसपछिका केहि दिनमै नेपाली बजारमा सुनको मुल्य १ लाख ३ हजार बढि भएको थियो । आज मंगलबार भने सुनको मुल्य १ लाख ३ हजारमा कारोबार भएको छ । एकातिर सुनको भाउ चर्किरहेको छ, अर्कातिर आयातमा कडाइ भएको छ।
तत्काल साविकको बजारबाहेक शुभकार्यका लागि सुन किन्ने कम होलान्। राष्ट्र बैंकको नीतिले देखिनेगरीको प्रभाव नपार्न सक्छ। तर वैशाखमा बिहेका कारण पनि माग बढ्छ। त्यो बेलासम्म रूस-युक्रेनको द्वन्द्व प्रभाव र राष्ट्र बैंकको आयात कोटा अहिलेकै जस्तो भए सुनको माग र भाउ दुवै चर्को हुने सम्भावना देखिन्छ।