लेटाङ घटनामा ज्यान गुमाएकी उर्मिलाका परिवारलाई राज्यले सहयोग गर्छ : गृहमन्त्री खाण

लेटाङ घटनाको छानबिन र दोषीलाई कारबाही गर्ने


काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार भएको घटनामा मृत्यु भएकी महिला प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यका तर्फबाट सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

उर्मिलाका श्रीमान नविन श्रेष्ठलाई टेलिफोन गरेर गृहमन्त्री खाणले शान्ति सुरक्षा कायम गर्न खटिएको अवस्थामा भएको आक्रमणबाट मृत्यु भएकाले राज्यका तर्फबाट परिवारलाई सहुलियत उपलब्ध गराउने बताएका हुन् ।

‘कर्तव्य पालनाको शिलशिलामा उहाँको मृत्यु भएको छ । उहाँप्रति सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दछु,’ गृहमन्त्री खाणको भनाइ उध्रित गर्दै उर्मिलाका पति नविनले भने, ‘तपाइहरूले उहाँको काज किरियासम्बन्धी कार्य सिध्याएर सम्पर्कमा आउनुहोला । राज्यबाट हामीले सक्दो सहयोग प्रदान गर्छौ ।’

फागूपूर्णिमाका दिन चैत चार गते शिक्षा विकास माद्यामिक विद्यालयकी छात्रालाई शिक्षक मनोज पौडेलले दुव्र्यवहार गरेको भन्दै विद्यालयका छात्र छात्रा र अभिभावकहरूसमेतको अनियन्त्रित भिडले विद्यालयमा आगजनी तोडफोड र ढुंगामुढा गरेको थियो ।

त्यो अवस्थालाई सामान्य बनाउन र शान्ति सुरक्षा कायम गर्न खटिएकी विराटनगरस्थित रानी गणमा कार्यरत महिला प्रहरी जवान श्रेष्ठ आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा मृत्यु भएको थियो । गृहमन्त्री खाणले लेटाङ घटनाको छानबिन गर्ने र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

प्रतिक्रिया