मकवानपुरमा लागुऔषधसहित दुईजना पक्राउ


मकवानपुर – जिल्ला प्रहरी कार्यालयल मकवानपुरले हेटौंडाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार पक्राउ परेका अभियुक्तलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ बाट एकजना र हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बाट एकजना गरी दुईजनालाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा हेटौंडा–१४ घर भई हाल हेटौंडा–५ मा डेरा लिई बस्ने २६ वर्षीय सन्देश दुलाल र ओखलढुंगा पोखरेली गाउँपालिका–४ घर भई हाल हेटौंडा–४ मा डेरा लिई बस्ने ३० वर्षीय गणेशप्रसाद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, शनिबार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–५ डेरा लिई बस्ने दुलालको डेरा चेकजाँच गर्दा लुकाई–छिपाई राखेको लागुऔषध डाइजेपाम १८ एम्पुल, फेनारगन १६ एम्पुल, नुर्फिन १६ एम्पुल बरामद गरेपछि निजलाई पक्राउ गरेको हो ।

यस्तै, शनिबार नै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ मा शंकास्पद रुपमा हिँडिरहेका ओखलढुंगाका घिमिरेलाई चेकजाँच गर्दा लागुऔषध डाइजेपाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुर्फिन ५ एम्पुल बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाएको जनाइएको छ ।

प्रतिक्रिया