

पार्टीको निर्णयलाई स्वीकार अश्वीकार गरे निर्वाचन जित्न कठिन : प्रदिप पौडेल

दमौली – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले पार्टीको निर्णयप्रति चित्त बुझेन भदै त्यसलाई अश्वीकार गरेमा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचन जित्न कठिन हुने बताएका छन् ।
तनहुँको भिमादमा सोमबार आयोजित २ नम्वर क्षेत्रीय सम्मेलनमा नेता पौडेलले निर्वाचनको बेलामा आफूलाई चित्त नबुझे पनि पार्टीको निर्णय स्वीकार गरेर अगाडि जानु पर्नेमा जोड दिएका हुन् ।
‘निर्वाचनमा आफूलाई चित्त बुझेन भने पनि पार्टीको निर्णयलाई स्वीकार गरेर अगाडि जानुपर्दछ,’ नेता पौडेलले भने, ‘पार्टीको निर्णयलाई स्वीकार नगर्ने हो भने कहिले पनि निर्वाचन जित्न सकिदैन ।’
निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय नभएको भन्दै उनले भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउन र आलोचना नगर्न पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।
‘निर्वाचनको बेलामा आन्तरिक मतभेदलाई उठाउने समय होइन । चित्त बुझेने भने त्यो कुरालाई थाती राख्नस्’ उनले भने, ‘ भाषणहरुमा कांग्रेसभित्रको कुरा नल्याउनुस्, आलोचना नगर्नुस् ।’
नेतृत्वमाथि औँला ठड्याउने मान्छेको रुपमा आफूलाई प्रस्तुत गर्दै पौडेलले सधैँ भरी प्रश्न गरिराख्न नमिल्ने जिकिर गरे ।
‘कम्युनिस्टको भ्रमलाई चिर्ने गरी हामीमा क्षमता अभिवृद्धि गरौँ । म पनि नेतृत्वलाई औँला ठड्याउन कोशिस गर्ने मानिस हुँ । गलत भएको ठाउँमा गलत भन्ने मानिस हुँ । तर, त्यसो सधैँ भरी भनिरहन मिल्दैन,’ उनले भने ।
उनले निर्वाचनको समयमा चित्त नबुझेका कुराहरु पनि सामाजिक सञ्जालमा नलेख्न नेता–कार्यकर्ताहरुलाई सुझाव दिए ।
‘सामाजिक सञ्जालमा मनपरी नगर्नुस्। तपाईँले सामाजिक सञ्जालमा केही लेख्नुभो भने तपाईंको उन्नतीको सबैभन्दा बाधक त्यही हुन्छ,’ उनले भने, ‘किन भने त्यो प्रमाणका रुपमा सुरक्षित हुन्छ।’
अमेरिकी सहायता परियोजना एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका भन्दै पौडेलले भ्रमहरु कांग्रेसले उदाङ्गो पार्न नसकिरहेको पनि बताए। ‘एमसीसीका बारेमा कम्युनिस्टहरुले भ्रम सिर्जना गरिरहेका छन्। त्यसलाई हामीहरुले उदाङ्गो पार्न सकिरहेका छैनौँ,’ उनले भने।

