

प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत

काठमाडौं – सरकारले नेपाल प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको छ ।
यससँगै तल्लो तहका २१ हजार प्रहरीको बढुवा गर्न बाटो खुलेको छ । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्रहरी नियमावलीको दशौँ संशोधन स्वीकृत गरेको हो ।
सरकारले मनोबल बढाउन भन्दै नेपाल प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थपेको थियो । तर नियमावलीअनुसार यो पदमा बढुवा गर्न एक वर्षको कार्यसम्पादन मूल्याङ्कन हेर्नुपर्ने थियो ।
त्यसलाई सम्बोधन गर्न सरकारले प्रहरी नियमावलीमै संशोधन गर्ने निर्णय गरेको हो । एक पटकका लागि जेष्ठताका आधारमा बढुवा गर्ने गरी नियमावलीमा संशोधन गरिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।

