

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम २ अर्ब २७ करोडमा सिमित

काठमाडौं – साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४ दशमलव ६७ अंकले घटेर २ हजार ६ सय १६ अंकमा झरेको हो । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०१ अंकले घटेको छ ।
दिनभर भएका ३५ हजार २१२ कारोबारबाट २२४ कम्पनीका ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब २७ करोड ४६ लाख २६ हजार १९१ रुपैयाँमा रोकिएको छ । कुल १४१ कम्पनीको मूल्य घट्यो भने ४६ को बढ्यो, ६ को स्थिर रह्यो ।
बैंकिङ ८, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ६३, जलविद्युत् १३, जीवन बीमा १९७, उत्पादन ६८, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ७४, अन्य ३२ र ब्यापार उपसमूह ४१ अंकले घटे । लगानी उपसमूह भने १.४४ अंकले बढ्यो । राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले बढ्यो । निफ्राको मूल्य ४.८ प्रतिशतले बढ्यो ।
यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक शेयरको मूल्य ५.८८ प्रतिशतले घटेर १५ हजार ९ सय ७२ रूपैयाँ १० पैसा पुगेको छ ।
आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड २९ लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

