विराटनगर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


विराटनगरमोरङको विराटनगरस्थित कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा समस्या देखिएको छ ।  महिला ५०जना र  पुरुष २५०जना गरी कूल ३०० जना बन्दी अट्ने क्षमता रहेको सो कारागारमा अहिले  पुरुष ८३२ जना , महिला ८४ जना र नाबालक दुई  गरी ९१८ जना रहेका छन्

कारागाराका नायब सुब्बा रामप्रसाद पोखरेलले कारागारमा कैदीको चाप रहे पनि कारागारामा कोभिड१९ को कारण कसैको ज्यान नगएको जानकारी दिए । उनका अनुसार आमासँगै आश्रित नाबालक बढीमा तीन वर्षसम्म मात्र बस्न पाउँछन् । 

कारागारमा कैदीबन्दीले सिदाको रूपमा दैनिक एक जनाले रु ६०  र ७०० ग्राम चामल सरकारबाट प्राप्त गर्दै आएका छन् । यसैगरी दशैँ खर्च रु ३००, जाडोको लुगा खरिद गर्न रु एक हजार ५२५,गर्मीको लुगाको लागि रु एक हजार ४०० अतिरिक्त  प्रत्येक दुई वर्षमा सिरक डस्नासमेत कैदीलाई दिने गरिएको छ ।

कारागारमा बस्दै आएका कैदीमा जाडो र गर्मी  मौसममा शरीर चिलाउने, हातखुटा सुनिने, छालामा विभिन्न खालका  समस्या देखिने जनाइएको छ । दैनिक छ जनादेखि आठजना कैदी बिरामी हुने गरेका छन् भने उनीहरूको स्वास्थ्य उपचारका लागि कोशी अस्पताल विराटनगरमा लैजाने गरिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा कैदी जीवन बिताउने बन्दीहरूको थप आयआर्जनका लागि उनीहरूले  मुडा र  टोपी तथा सामान्य किसिमको काठका सामान पनि बनाउने गरेको र सो बिक्री भएमा उनीहरूले थप आयआर्जन गर्ने गरेको बताइएको छ । महिला कैदीलाई सीपको विकास गर्न उनीहरूलाई कारागार प्रशासनले सिलाइकटाई, व्यूटिपार्लर तालीम दिनुका साथै सिलाइकटाई तालीममा सहयोग पुग्ने उद्देश्यले अहिले पाँच थान सिलाई मेसिन पनि उपलब्ध गराइएको छ ।

कारागार प्रशासनका अनुसार जोश र जाँगर भएका धेरै बन्दी सीप विकासमा ध्यान दिने गरेको पाइएको छ भने कतिपयले निराश भएर फुर्सदिलो जीवन बिताइरहेका छन् । सरकारले उपलब्ध गराइरहेको सिदा र रकमले बन्दीको दिनचर्यामा नपुग्ने भएकोले नै उनीहरू मेहनत गर्न चाहेको र यसबाट उनीहरूले अतिरिक्त आम्दानी गर्न सफल भएका छन् ।

कारागारमा रहेका बन्दीमध्ये आर्थिक रुपले सक्षम व्यक्तिहरू निजी अस्पतालमा गएर उपचार गराउने गरेका छन् । कारागार प्रशासनले सानो ठाउँमा धेरै बन्दी राख्दा  जोखिम रहने र उनीहरूको उचित व्यवस्थापनमा समेत समस्या आएको जनाएको छ ।

(रासस)

प्रतिक्रिया