उम्मेदवार बन्न चाहने जनप्रतिनिधिको बेरुजुलगायत फछ्र्यौट हुनुपर्ने


काठमाडौं – आगामी स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिता विहीबार राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तहको आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने वहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्नेसहितको आचारसंहिता प्रकाशित भएको जानकारी दिए ।

त्यस्तै उम्मेदवार बन्न चाहने जनप्रतिनिधिको बेरुजुलगायत फछ्र्यौट हुनुपर्ने उनले बताए । स्थानीय तहका जनप्रतिनिधिले राजीनामा दिएमा सो स्थानमा अन्यले जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको पनि पौडेलले बताए ।

उनले आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुने जानकारी दिए । त्यस्तै आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलका उम्मेद्वारलाई सोहि दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ दललाई जिल्ला स्तरको संगठन संरचनाको बिबरण चैत्र ६ गतेभित्र पेश गर्न पनि पत्रचार गरेको छ ।

त्यस्तै आगामी निर्वाचनका लागि काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाको सामूहिक दुर्घटना बीमा गर्न बीमा संस्थानसंग सम्झौता गरिएको प्रवक्ता पौडेलले बताए ।

त्यस्तै स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता नामावली, मतदाता परिचयपत्र लगाएतका निर्वाचन सामाग्रीहरु छपाइका लागि ६ वटा प्याकेजमा इ-बिडिङका माध्यमबाट खरिद गर्न बोलपत्रको सूचना प्रकाशन भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया