सरकारी कागजपत्र बनाउने गिरोह कालीमाटी प्रहरीको फन्दामा


काठमाडौं – प्रहरीले सरकारी छाप किर्ते गरेको आरोपमा काठमाडौंको विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको छ। मंगलबार महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

केही समयअघि काठमाडौं महानगर–१२स्थित त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाइदिने प्रलोभन देखाएर मानिसहरूलाई ठगी गरिरहेको भन्ने गोप्य सूचना प्रहरीले पाएको थियो।

सो सूचनाको आधारमा कालिमाटी वृत्तबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेले जानकारी दिए।

पक्राउ पर्नेहरुमा रोल्पा घर भई गोंगबु बस्ने २९ वर्षीय अमृत थापा, २४ वर्षीय प्रज्वल खड्का, बाग्लुङका ३० वर्षीय रञ्जित कार्की, म्याग्दीका ३३ वर्षीय रामजी परियार, ललितपुरका ३६ वर्षीया गोमा बजगाई, पाल्पाका ३३ वर्षीय जीवनकुमार श्रेष्ठ र रामेछापका ३७ वर्षीय मिठे मगर छन्।

त्यस्तै ललितपुरका रमेश बजगाई, काभ्रेका २५ वर्षीय सन्दिप मैनाली, सिन्धुली घर भई धुम्बराही पिपलबोट बस्ने २१ वर्षीय अभिषेक मगर, दैलेख घर भई सिनामंगल बस्ने २२ वर्षीय निरन्जन तिवारी र धादिङ घर भई कलंकी बस्ने २४ वर्षीय मदन तामाङ पनि पक्राउ परेका छन्।

उनीहरूलाई कलंकी, महाराजगन्ज, गोंगबु, सिनामंगल, गौशाला, जमलबाट पक्राउ गरेको डिएसपी घिमिरेले बताए। उनीहरूको साथबाट प्रहरीले १० वटा विभिन्न सरकारी तथा निजी छाप, कन्सुलर विभागको एउटा, राष्ट्रिय परीक्षा बोर्डको एउटा, परीक्षा नियन्त्रण कार्यालयको एउटा छाप बरामद गरेको छ।

उनीहरूबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू समेत बरामद भएको प्रहरीले जनाएको छ। त्यस्तै १४ वटा मोबाइल समेत बरामद भएको डिएसपी घिमिरेले बताए।

यस्तै प्रहरी प्रधान कार्यालयले दिने चारित्रिक प्रमाण पत्र, कोभिड–१९ नेगेटिभ भएको प्रमाणपत्र र राहदानी फारममा समेत किर्ते भेटिएको हो ।

उनीहरुमाथि मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद(२५ अन्तर्गत दफा २७६ को उपदफा (१) ‘किर्ते गर्न नहुने कसूर’ बमोजिम महानगरीय प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया