

दुर्लभ सुन कछुवा बेच्ने थियो योजना, ग्राहक बनेर प्रहरी पुगेपछि…

काठमाडौं – काठमाडौं महानगरपालिका–१३, सोल्टीदोबाटोबाट सुन कछुवासहित चार जना पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त कालीमाटीले जिउँदो सुन कछुवासहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बालाजुका ४४ वर्षीय सञ्जय तामाङ, बालाजुकै २२ वर्षीय प्रकाश खाती, दोलखा गौरीशंकर गाउँपालिका–८ घर भई बूढानीलकण्ठ बस्ने ३३ वर्षीय राजकुमार तामाङ र तनहुँ भानु नगरपालिका–३ घर भई रानीबारी बस्ने ४२ वर्षीय हरि परियार रहेका छन्।
महानगरीय प्रहरी वृत्त, कालीमाटीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल घिमिरेका अनुसार जिउँदो सुन कछुवा अन्दाजी २.२७५ केजी रहेको छ। सुन कछुवा एकदमै दुर्लभ मानिन्छ।
सुन कछुवाको बिक्री गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए। सुन कछुवाको बिक्री गर्न लागेको सूचना प्राप्त भएपश्चात प्रहरी आफै ग्राहक बनेर किन्न पुगेको थियो।
पक्राउ गर्नुअघि उनीहरुले सुन कछुवा ८० लाखमा बिक्री गर्ने सहमति गरेका थिए। लगत्तै उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले कछुवासहित पाँच वटा मोबाइल, ३६ हजार ६०५ रुपैयाँ समेत नगद बरामद परेको छ।
उनीहरुलाई डिभिजन वन कार्यालय हात्तिसार, काठमाडौं पठाइने प्रहरीको भनाइ छ।

