१८ महिने अबोध नाबालिकाको नरक !

घरबाट चोरेर अपहरण–बलात्कारपछि दुधे बालिकाको हत्या, दाजुभाई पक्राउ


काठमाडौं – गत शुक्रबार अर्थात फागुन २७ गते मोरङको सुन्दरहरैँचा नगरपालिका–७ की १८ महिने एक अबोध नाबालिका घरनजिकै सामान्य झाडीमा अचेत अवस्थामा फेला परिन्। ती अबोध बालिकाको यौनाङ रक्ताम्य भएकाले बलात्कार भएको हुनसक्ने आशंका थियो।

साँझ पौने ६ बजेसम्म आफ्नै आमासँग रहेकी बालिका सवा ६ बजे घरबाट १५०–२ सय मिटर नजिकैको सामान्य झाडीमा अचेत अवस्थामा भेटिएपछि तत्कालै उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्याइयो। तर, बालिकाको उपचारका क्रममा राति साढे ११ बजेतिर मृत्यु भयो।

यतिखेर १८ महिने दुधे बालिकाको अपहरण–बलात्कारपछि मृत्यु भएको हृदयविदारक खबरले सबैलाई चिन्तित बनाएको छ। हाम्रो समाज कति क्रूर बन्दै गइरहेको छ भने यो घटनाले प्रष्ट पारेको छ। तर, यो असामान्य घटना हो। घटनामा संलग्न व्यक्तिलाई कडाभन्दा कडा सजाय हुनपर्छ।

यो घटनाले कुनै पनि उमेर समूहका बालबालिका कति सुरक्षित छन् भन्ने प्रश्न उठ्न थालेको छ। १८ महिने एक अबोध बालिकालाई करणी गरी हत्या गरिएको खबरले अधिकांश महिलाहरुलाई झस्काएको छ। यस घटनापछि धेरैले बुझनुपर्छ कि– आफ्नो कलिला छोरीहरुलाई एक्लै छाड्न नहुँदो रहेछ।

१८ महिने अबोध बालिका बलात्कृत त भइन् र उनको मृत्यु नै भयो। चाहे मोरङमा १८ महिनाकी बालिका बलात्कृत हुन् या राजधानी काठमाडौंमा। हाम्रो समाजले यी कलिला चेलीहरुको सुरक्षा गर्न किन सकिरहेको छैन? आम जनमासमा उठेको प्रश्न हो यो।

हामी ठूला—ठूला राजनीतिक परिवर्तनका कुराहरु गरिरहेका छौँ। विकासका र आर्थिक छलाङ मार्ने कुरा गर्दै छौँ। तर अबोध र अञ्जान बालबालिकाको सुरक्षामा के गर्दैछौँ? अब प्रश्न उठाउने बेला भएको छ।

बालबालिकामा हुने यौनशोषणका घटना धेरैजसो आफन्त र नजिकका मानिनेहरुबाट नै हुने गरेको पाइएको छ। जस्तो मोरङ घटना पनि चिनेजानेकै व्यक्तिबाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सो घटनामा मोरङ प्रहरीले दुईजना (दाजुभाई) लाई पक्राउ गरेर कानुनी दायरमा ल्याइसकेको छ।

निज अवोध बालिकालाई अपहरणपछि करणी गरी हत्या गर्नेमा सोही सुन्दरहरैँचा नगरपालिका बस्ने २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

पत्रकार सम्मेलनमा मोरङ प्रहरीका उपरीक्षक (एसपी) जनार्दन जिसीले घटनामा संलग्नहरुले गाँजाको नशामा लठ्ठ भएपछि बालिकालाई उठाएर झाडीमा ल्याउने योजना बनाएको अनुसन्धानबाट खुलेको जानकारी दिए। बालिकाको बलात्कारअघि उनीहरुले केराघारीमा बसेर सँगै बियर र गाँजा सेवन गरेको प्रहरीले जनाएको छ।

‘घटनामा संलग्न अजयले गछिया खोलमा बालुवा चालिरहेको अवस्थामा उनकै दाई मिथुनसँग भेटघाटसँगै केरा बगानमा गएर गाँजा खाएका रहेछन्,’ एसपी जिसीले भने, ‘त्यसपछि अजय चौधरीले सधैं एक्लै देख्ने बालिकालाई घरमा गएर ल्याउने योजना बनाएको देखियो।’

त्यसपछि आफ्नै घरमा खेल्दै गरेकी बालिकालाई अजय एक्लैले चकलेट दिएर ललाईफकाई गरी अपहरण गरी बालिकाको घरबाट पश्चिमतर्फ बयरघारीमा लगेर करणी गरेको एसपी जिसीले जानकारी दिए। ‘अजयले करणी गर्दा बालिका रुन थालेसँगै बियरको बोतल र ढुंगाले टाउकोमा हानेपछि मिथुनले पनि करणी गरेपछि त्यहाँबाट हिँडेका रहेछन्।’

२७ गते साँझ हराएकी बालिका झाडीमा फेला पर्दा उनको यौनाङ्गमा मात्र नभएर टाउकोमा समेत चोट लागेको थियो। त्यस्तै बालिकाले लगाएको सुरुवाल खुल्लै थियो।

No description available.

बालिकाको अपहरण-बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका अभियुक्तहरूलाई सार्वजनिक गर्दै मोरङ प्रहरी ।

प्रहरीले घटनास्थलबाट रगत लागेको ढुंगा दुईवटा, बियरको बोतल एकथान र पीडितको सुरुवाल समेत बरामद गरेको छ। एसपी जिसीले मुलुकी अपराध संहिता २०७४ अनुसार जन्मकैदको सजाय हुने बताए। अभियुक्तलाई पाँच दिन अदालतबाट म्याद थप गरिएको छ भने अपहरण, जबरजस्तीकरणी र हत्याको आरोपमा आजीवन कारावासको माग गरिएको प्रहरीले जनाएको छ।

आरोपीमध्ये एक अजय चौधरी दुईवर्ष अगाडि पनि दुई वर्षीया बालिकाको अपहरण मुद्दामा कारागार चलान भइ गत मंसिर १८ गते अदालतको फैसलाबाट रिहा भएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी जिसीले बताए।

अपराधी जेलबाट छुटेपछि पनि पुनः अपराध कर्ममा जोडिन्छ भनेको साँच्ची नै हो रहेछ। २ वर्षअघि बालिका अपहरणको मुद्दामा जेलसजाय भोगेर कारागारबाट रिहा हुनासाथ अजय चौधरी बलात्कार जस्तो जघन्य अपराधमा मुछिएपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ। के साँच्चीकै बलात्कार–अपहरणपछि हत्या जस्तो घटनामा नेपालको कानुन फितलो नै हो?

यस्तो प्रकारको वीभत्स घटना र तिनको अवस्था देखेकाहरू यस्ता अबोध बालिकालाई बलात्कार गर्ने अपराधीलाई फाँसी दिनुपर्ने सामाजिक सञ्जालहरुमाफृत आवाज उठिरहेको छ। मौजुदा कानुनमा त्यस्तो व्यवस्था नभए पनि आमनागरिकको एउटै आशय यो छ कि, यस्तो जघन्य अपराध गर्ने जोकोहीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ। ताकि, अन्यले फेरि त्यस्तो अपराध गर्ने दुस्साहस कहिल्यै नगरून्।

जुनसुकै उमेरसमूहका महिला, बालिका र युवतीविरुद्ध हुने बलात्कारलाई अपराध मानिएको छ र सार्वजनिक भएका यस्ता घटनामा संलग्नहरुले कानुनअनुसार दण्डसजाय भोग्दै पनि आएका छन् तर पनि बलात्कारका घटनामा कुनै कमी आउननसकेको नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डिआईजी) हेमन्त मल्ल ठकुरी बताउँछन्।

यसो हुनुको कारण मानिसहरुमा अझ भन्नुपर्दा समाजमा नैतिकता मर्नु यसको उपज हो। कानुन बलियो भएमात्र यस्ता घटनाहरुमा कमी आउने पूर्वडिआईजी मल्लको भनाइ छ। अभिभावकको अनुपस्थितिमा थोरै पैसा वा खानेकुराको प्रलोभनमा पारी छरछिमेककै व्यक्तिले घरभन्दा टाढा लगेर बलात्कार गरी अचेत अवस्थामा छाडेको प्रहरीको हालसम्मको अनुसन्धानले देखाएको छ।

माथिको घटना पनि त्यहि हो।

बालबालिकालाई सुरक्षित कसरी राख्ने?
बालबालिकाको सुरक्षामा अभिभावक र विद्यालयको ठूलो भूमिका हुने गर्छ। मुख्य कुरा हामीले कस्तो संस्कारमा हुर्काउँदै छौँ भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण कुरा हुन आउँछ। त्यस्तै बच्चाको वरिपरि कस्ता मानिसहरुको संगत छ भन्ने कुरा मुख्यतः अभिभावकले नै पहिचान गर्नु अत्यावश्यक छ।

त्यसैले आवश्यकभन्दा नजिक आफ्ना आफन्त छन् भने पनि उनीहरुको निगरानी गर्नु अभिभावकीय प्रमुख दायित्व अब हुनुपर्छ। विद्यालयमा शिक्षक र घरमा आफन्तहरुबाट हुने यौनशोषण अत्यन्त डरलाग्दो रुपमा विकसित भइरहेको उक्त घटनाहरुले देखाउँछन्।

बालबालिकासँग सम्बन्धी यस्ता घटना जहाँ पनि हुनसक्छन् आफ्नै घरमा, छिमेकमा वा स्कुलमा। अभिभावकले सकेसम्म बालबालिकालाई सचेत पनि गराउनुपर्दछ। खासगरी स्कुल जाने बच्चाहरुलाई त अहिले विभिन्न अनलाइनहरुमा सचेत गराउने भिडियोहरु पनि उपलब्ध छन्।

ती भिडियो देखाएर कसैले आफलाई नराम्रो व्यवहार गरेमा तुरुन्त भन्न प्रेरित गर्नुपर्ने भइसकेको छ। साथै ग्रामीण इलाकामा यससम्बन्धी काम गर्ने गैरसरकारी संस्था, स्थानीय सरकारले सचेतना कार्यक्रम अभिभावक र बालबालिका दुवैलाई दिनुपर्ने अत्यावश्यकीय भइसकेको छ।

प्रतिक्रिया