नेपाल एसबीआई बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं – नेपाल एसबीआई बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो । यो ऋणपत्र निष्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा गत फागुन १६ गते आवेदन दिएको छ ।
धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्कासन गर्नेछ । जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
यसमा लगानीकर्ताले ९.२५ प्रतिशत ब्याज पाउने छन् । यो ऋणपत्र १० वर्षे अवधिको हो । ऋणपत्रको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।