२ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक


काठमाडौँ- नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ ‘क’ निष्काशन गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि आगामी चैत ३० गते उक्त नागरिक बचत पत्र निष्काशन गर्न लागेको हो । आइतबार एक सूचना जारी गर्दै बैंकले बचतपत्रका लागि दरखास्त दिन सार्वजनिक आह्वान गरेको छ ।

उक्त बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमभन्दा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निशेष जाने रकम लगानी गर्न सकिने सूचनामा उल्लेख छ । नागरिकले चैत २० सम्म बचतपत्र खरिद गर्न सक्नेछन् । तोकिएको अवधिअघि नै कुल निष्कासित रकमका लागि आवेदन आए चैत २० अघि नै बन्द हुने राष्ट्र बैंकले बताएको छ ।

विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत पनि गर्न सकिने व्यावस्था गरेपछि विदेशमा रहेका नेपालीले पनि यस्तो सुविधा पाएका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गर्ने घोषणा गरेको थियो । सोहीअनुसार मुद्रा व्यवस्थापन विभागले आवश्यक प्राविधिक व्यवस्था मिलाएको हो । तर बचतपत्र डिम्याट भइनसकेकाले प्रमाणपत्र लिन भने बैंकमै पुग्नुपर्नेछ ।

बचतपत्र परिपक्व हुने अवधि ५ वर्षको हुन्छ । यसमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ब्याजको भुक्तानी हरेक ६/६ महिनामा हुन्छ । तर प्राप्त ब्याजमा भने ५ प्रतिशत कर लाग्छ । आवश्यक परेका बेला बिक्री गर्न र बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन पनि सकिन्छ । उल्लिखित कारणले केही लामो समयसम्मका लागि लगानीका क्षेत्र खोजिरहेका नेपालीहरूका लागि नागरिक बचतपत्र उपयुक्त औजार हुने  राष्ट्र बैंकको दाबी छ ।

के हो नागरिक बचतपत्र ? 

नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल निष्काशन भएका नागरिक बचतपत्र ५, १० र १२ वर्षे अवधिका रहेका छन् । सरकारले आवश्यकता अनुसार यो बचतपत्रको अवधि निर्धारण गर्दछ ।

अर्थतन्त्रमा छरिएर रहेको स-सानो बचत रकम परिचालन गर्न सर्वसाधारण नेपाली नागरिकहरूलाई उचित प्रतिफल सहितको सुरक्षित लगानी गर्ने अवसर प्रदान गरी देश विकासको निमित्त वित्तीय साधन जुटाउनु यस बचतपत्रको मुख्य उद्देश्य हो ।

नागरिक बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर प्रक्रियाबाट निष्काशन गरिन्छ । बिक्री खुल्ला, बन्द र निष्काशन मिति नागरिक बचतपत्रको बिक्री खुल्ला, बिक्री बन्द र निष्काशन खुल्ला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ ।

प्रतिक्रिया