
पल-गायीका प्रकरण: प्रियंका भन्छिन्- म पीडित हुँ भन्न पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ
काठमाडौं – जबरजस्ती करणी मुद्दामा उजुरी परेपछि अभिनेता पल शाह र पीडित नाबालिग गायीकाको प्रकरणलाई लिएर यतिबेला धेरै सेलिब्रेटीहरुले सामाजिक सञ्जालमार्फत आ आफ्नो धारणा सार्वजनिक गरिरहेको छन् ।
यस्तैमा अभिनेत्री प्रियंका कार्कीले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन्। उनले पलको मुद्दालाई लक्षित गर्दै प्रशासनलाई निष्पक्ष रूपमा काम गर्न दिनु हाम्रो कर्तव्य भएको बताएकी छन्।
प्रियंकाले समाजमा आफू पीडित रहेको कुरा सार्वजनिक गर्न पनि ठूलो हिम्मत जुटाउनुपर्ने अवस्था रहनु दुखद् रहेको टिप्पणी गरेकी छन्। यस्तो वातावरणमा पनि आफू पीडित भएको भनी आवाज उठाउनेलाई कदर गर्ने उनले बताएकी छन्।
‘दुःखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले म पीडित हुँ भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ‚’ उनले लेखेकी छन्‚ ‘यस्तोमा अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु।’
नाबालिगको हकमा नेपालमा मात्र नभई विश्वका विभिन्न देशमा आफ्नो परिवेशअनुसार कानुन निर्माण गरिने बताउँदै प्रियंकाले नाबालिगको संरक्षण गर्नु समाजको दायित्व भएको बताएकी छन्।
‘नाबालिगको हकमा, मैले बुझेअनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेशअनुसार उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमताुलाई ध्यानमा राखेर नै बनाइएको हुन्छ‚’ उनले लेखेकी छन्‚ ‘नाबालिगहरू निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्न चिह्न उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन।’



कागजपत्र |
