

मोरङको जंगलमा बालिकाको शव गाडेको अवस्थामा भेटियो

काठमाडौं – मोरङमा एक बालिकाको शव गाडेको अवस्थामा भेटिएको छ। मोरङ लेटाङ भोगटेनी नगरपालिका–८ जायमिरेकी १२ वर्षीया बालिका करुणा राईको शव खाडलमा गाडेको अवस्थामा भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बलिका राईको शव लालहीरा सामुदायिक वनमा गाडेको अवस्थामा फेला परेको हो। ‘बालिकाको शव नग्न बनाएर गाडेको अवस्थामा भेटिएको हो,’ मोरङका डिएसपी मञ्जिल मुकारुङले भने।
डिएसपी मुकारुङका अनुसार बालिकाको शरीरमा चोटहरु देखिएको छ। स्थानीय जाँते माध्यामिक विद्यालयमा ६ कक्षामा अध्ययनरत उनी बुधबार विद्यालयबाट घर नपुगेपछि खोजी सुरु भएको थियो।
बालिका हराएको खबर थाहा पाएसँगै इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी टोलीले बालिकाको खोजी सुरु गरेको थियो। सो क्रममा बालिकाको शव खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको डिएसपी मुकारुङले बताए।
घटनाको अनुसन्धानका लागि प्रहरीले शंकाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको छ। मृतक राईको शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छ।

