

पुराना नोटबाट ब्रिकेट बनाउन राष्ट्र बैंकले ल्यायो अत्याधुनिक मेसिन

काठमाडाैँ – नेपाल राष्ट्र बैंकले पुराना नोटबाट ब्रिकेट बनाउन अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यका साथ नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) सञ्चालनमा ल्याइएको हो । शुक्रबार नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको ‘स्वीच अन’ गरेर त्यसको औपचारिक शुभारम्भ गरेका हुन् ।
चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्ने उद्देश्यले उक्त प्रणाली अवलम्बन गरिएको राष्ट्र बैंकले बताएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो । अब भने मेसिनले ती नोटहरुबाट ब्रिकेट (गुइँठा) उत्पादन हुनेछ । यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकनेछ । उक्त कार्यक्रममा गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा ‘बीएसबीस’को सुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको बताए ।
‘बीएसबीएस’ मार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको उनले जानकारी दिए । बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ । कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए ।
कार्यक्रममा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको बताए । यी मेसिनहरू नेदरल्याण्डबाट आयात गरिएको हो । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिने र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्ने राष्ट्र बैंकले जनाएको छ ।
यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० केजीको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । ‘बीएसबीएस’ मेसिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिनेछ । सो अवसरमा गभर्नर अधिकारीले बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी उनले दिए । साथै बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।

