ए डिभिजन लिग : एपीएफसँग मनाङ पराजित, उपविजेताको स्थान पनि धराप


काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ ले पराजित गरेको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा अग्रता भने मनाङले खेलको ३७ औ मिनेटमा लिएको थियो।

अन्जन विष्टले हेडरमार्फत गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए। यसको तीन मिनेटपछि नै आशीष लामाले एपीएफको लागि बराबरी गोल फर्काए। पहिलो हाफ १-१ गोलको बरबरीमै सकियो।

तर खेलको अन्तिम ९ मिनेटमा एपीएफ थप दुई गोल गर्न सफल भयो। ८१ औं मिनेटमा सब्सिच्युट खेलाडी मणिकुमार लामाले एपीएफका लागि दोस्रो गोल गरेका थिए। यसपछि ८६ औं मिनेटमा रिबाउण्ड बलमा गोल गर्दै कप्तान नवीन लामाले एपीएफको ३-१ को जित पक्का गरे।

यो हारले मनाङको लिगको उपविजेता बन्ने सम्भावना पनि धरापमा परेको छ। ११ खेलबाट २० अंकसहित लिगको दोस्रो स्थानमा रहेको मनाङ समान खेल खेलेर तेस्रो स्थानमा रहेको आर्मी क्लबभन्दा एक अंक मात्र माथि छ। उता जितपछि ११ खेलबाट १४ अंक जोडेको एपीएफको भने रेलिगेसनमा पर्ने सम्भावना अब समाप्त भएको छ।

बिहिबार कै अर्को खेलमा संकटा क्लबलाई १-० ले पराजित गर्दै एनआरटी क्लब लिगको पाँचौं स्थानमा उक्लन सफल भएको छ। एनआरटीको जितमा एक मात्र निर्णायक गोल खेलको २८ औं मिनेटमा विदेशी खेलाडी स्टेफेन समिरले गरेका थिए। जितपछि ११ खेलबाट १७ अंक रहेको एनआरटी लिगको पाँचौं स्थानमा उक्लिँदा समान खेलबाट १५ अंक रहेको संकटा छैटौं स्थानमा छ।

प्रतिक्रिया