सहकर्मीलाई चक्कु र बञ्चरोले हानेर गम्भीर घाइते बनाउने व्यक्ति पक्राउ


काठमाडाैँ – काठमाडौँ महानगरपालिका–१५ ठाडो भर्याङस्थित ग्रिल कारखानाका मजदुरलाई रक्सीको मातमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

यसरी पक्राउ पर्नेमा सोही कारखानामा काम गर्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–७ घर बताउने ४८ वर्षीय मिलन खत्री हुन्। उनीविरुद्ध नुवाकोटको विदुर नगरपालिका–१ घर भएका २२ वर्षीय विकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग रहेको महानगरीय प्रहरी कार्यालयले बिहीबार सूचना जारी गरी जनाएको छ।

खोजतलासका क्रममा बुधबार राति पक्राउ परेका उनले मदिरा पिएर आपसी विवाद हुँदा आचार्यलाई चक्कु र बञ्चरोले गर्धन र टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेलाई मनमोहन मेमोरियल अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको छ। अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया