
देउवा–प्रचण्ड–ओलीलाई अमेरिकी मन्त्रीको फोनः एमसीसी रोक्ने खेल चीनको हो, सहयोग कटौतीकाे चेतावनी
काठमाडाैँ – अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) रोक्न चीनले खेलिरहेको सिधै आरोप लगाएको छ। नेपालका शीर्ष नेताहरूलाई वासिङ्टनबाट सिधै फोन गरेर अमेरिकी मन्त्रीले नै एमसीसी सम्झौता नेपालको प्रतिनिधि सभाबाट अनुमोदन हुनबाट रोकेर फिर्ता पठाउन चीनले नेपाली नेताहरूमार्फत खेलिरहेको आरोप लगाएका हुन्।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने अन्तिम कसरत अन्तर्गत अमेरिकाले यस्तो आरोप लगाएको हो। नेपाली नेताहरूले भने अरु देशको सल्लाहमा नभएर नेपाल आफैँले एमसीसीबारे निर्णय गर्ने जवाफ दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा भएकै बेला सम्झौता अनुमोदन गराउन वासिङ्टनबाट अमेरिकी मन्त्री र एमसीसीका अधिकारीहरूले नेपालका शीर्ष नेताहरूलाई सिधै फोन गरेर यस्तो दबाब दिएका हुन्।
एमसीसीका उपाध्यक्ष फतिमा सुमार र काठमाडौँस्थित अमेरिकी राजदूत रेन्डी बेरीको पहलले नपुगेपछि बिहीबार दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लूले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वासिङ्टनबाट फोन गरेर एमसीसीबारे अन्तिम निर्णय लिन दबाब दिएका हुन्।
बिहीबार सहायक मन्त्री लूले प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीलाई फोन गरेर दबाब दिएको शीर्ष नेताहरूले पुष्टि गरेका छन्। बिहीबार बिहान प्रधानमन्त्री देउवासँग फोनमा सहायक मन्त्री लूले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी अनुमोदन नभए फिर्ता हुने बताएका थिए।
कांग्रेसका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले आफू एमसीसी अनुमोदन गर्न प्रतिबद्ध रहेको र गठबन्धनका नेताहरूलाई पनि मनाउने प्रयास गरिरहेको जवाफ दिएका थिए।
अमेरिकी मन्त्रीले सिधै एमसीसी रोक्न चीनले खेलिरहेको आरोप लगाएपछि माओवादी केन्द्रका नेताहरू अलि झस्किएका छन्। प्रचण्डलाई मन्त्री लूले एमसीसी अब संशोधन, परिमार्जन केही नहुने र थप समय कुर्न पनि नसक्ने बताएका थिए।
मन्त्री लूले एमसीसी अनुमोदन नभए नेपाललाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग कटौती हुन सक्ने र दुई देश बीचको सम्बन्धमै दरार आउन सक्ने चेतावनी दिएका छन्।
लूसँग भएको करिब १० मिनेटको कुराकानीमा अध्यक्ष प्रचण्डले आफूहरू एमसीसी अनुमोदन गर्ने पक्षमै रहेको तर राष्ट्रिय सहमति आवश्यक पर्ने जवाफ दिएका थिए। एमसीसी रोक्न चीनले खेलिरहेको भन्ने अमेरिकी मन्त्रीको भनाइले झस्किएका प्रचण्डले यसबारे नेपाल आफैँले निर्णय लिने बताएका थिए।



कागजपत्र |
