छुट्टाछुट्टै घटनामा देशभर १२ जना मृत फेला


काठमाडौं – काठमाडौंमा दुई जनासहित देशभर १२ जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित खुम्बिला होटल नजिक सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल पण्डीत गाउँस्थित प्लटिङमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यता गोरखाको गोरखा नगरपालिका-४ फिनाम पन्थीस्वारा बस्ने ६० वर्षीया ठुली खन खवास घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

बैतडीको दशरथचन्द नगरपालिका-२ सौरेनिगडा बस्ने ४५ वर्षीय मान सिंह रावत घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । नेपाल विद्युत प्राधिकरण गोठालापानीमा करारमा कार्यरत रावत बिहीबार राति कार्यालयबाट घर फर्केकोमा घरमा नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

त्यस्तै धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको शव शुक्रबार फेला परेको छ । झापाको शिबसताक्षी नगरपालिका-१० माइखोला पुलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ५६ वर्षीय होम प्रसाद राई घर नजिकै बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत बुधबार जडिबुटि खोज्न भनि आफ्नै घरदेखि जंगलतर्फ हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।

तेह्रथुमको छथर गाउँपालिका-३ बासमेरी बस्ने ६४ वर्षीया फुलमाया सार्की घर नजिकै सामुदायीक जंगलमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान फाक्चामारा जान्छु भनी हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

उता संखुवासभाको पाचँखपन नगरपालिका-६ स्थित तिलबारीडाँडा जंगलमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सल्यानको शारदा नगरपालिका-८ मालडाँडा बस्ने ७३ वर्षीय तेज बहादुर कवर घर नजिकै गोरेटो बाटोमा शनिबार मृत अवस्थामा फेला परेका छन् । गत माघ १६ गते घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

लमजुङको वेसीशहर नगरपालिका-११ ओडार बस्ने ४६ वर्षीय टेकनिधी तिवारी आफ्नै घर नजिक नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् । सप्तरीको सप्तकोशी नगरपालिका-१ पारोहाङग चौकस्थित निर्माणाधिन घरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया