युवतीको शव फेला, हत्या आशङ्कामा श्रीमान् र ससुरा पक्राउ


कपिलवस्तु – कपिलवस्तुमा गाडेको अवस्थामा एउटी २० वर्षीया युवतीको शव उत्खनन गरी त्यहाँको प्रहरीले शुक्रवार पोस्टमार्टम गर्न अस्पताल पठाएको छ । जिल्लाको यसोधारा गाउँपालिका–८, सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव प्रहरीले उत्खनन गरेको हो ।

उनको हत्या गरी गाडेको आशङ्कामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको त्यहाँका जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार माघ १९ गते राति बिरामी थिइन् । पछि झुन्डिएर मृत्यु भई भन्दै केही छिमेकीलाई समेत बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएको थियो ।

हिजो साँझ ८ बजे मात्र झुण्डाएर हत्या गरी शव सदगत गरेको भन्ने सूचना पाउन साथ प्रहरी त्यहाँ शव पुगेर उत्खनन गरेको थियो । लगत्तै हत्या आशङ्कामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले सोधपुछ गरिरहेको छ ।

एसपी केसी भन्छन्, ‘मृतकको श्रीमानले म इन्डियामा थिएँ , हिजो मात्रै घर आएको हुँ भन्छन् तर हो होइन भन्ने कुरा त्यहाँ पुगेर बुझ्दैछौँ र अनुसन्धान गर्दछौँ। युवतीको माइती घर सीमा क्षेत्रको भारतमा हो । उनीहरू बीच ९ महिना अघि मात्र विवाह भएको एसपी केसीको भनाई छ ।

प्रतिक्रिया