१८ हजार नेपालीकाे राहदानीको विवरण इन्टरपोलमा


काठमाडाैँ – राहदानी विभागले १८ हजार ७ सय ७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)मा दर्ता गराएको छ ।

राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा दर्ता गराएको हो।

नियमावलीअनुसार हराएका राहदानीबारे इन्टरपोललाई समय–समयमा अद्यावधिक गर्नुपर्ने प्रावधन छ । यसै हप्ता परराष्ट्र मन्त्रालयले जारी गरेको नेपालको परराष्ट्र मामिलासम्बन्धी वार्षीक प्रतिवेदनमा विभागले हराएको राहदानीको विवरण नियमित रूपमा इन्टरपोललाई पठाउँदै आएको जनाइएको छ । वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ को विवरणमात्र समावेश गरिएको छ।

विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालय, १९ इलाका प्रशासन कार्यालय र विदेशस्थित ४० नेपाली कूटनीतिक नियोगमार्फत राहदानी सेवा उपलव्ध गराउँदै आएको तथा उक्त अविधि सम्ममा ६८ लाख ६ हजार ९१३ ‘मेसिन रिडेबल पासपोर्ट’ जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

पञ्चशीलका सिद्धान्त, असंलग्नता, संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मापदण्डअनुसार परराष्ट्र नीति सञ्चालन गरिरहेको मुलुकले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको छ।

उदार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको वकालतलाई नेपालले जारी राखेको प्रतिवेदनमा स्पष्ट गरिएको छ भने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिबद्धता महसुस गर्न विकासका साझेदारहरूसँग सहकार्य भइरहेको, दिगो विकास लक्ष्य हासिल गर्ने आकाङ्क्षा पूरा गर्न हरसम्भव प्रयास गरिएको जनाइएको छ । कोभिड–१९ को महामारीले सिर्जना गरेको कठिनाइका बीच पनि नेपालको संलग्नता छिमेकी र अन्य देशका साथै क्षेत्रीय र बहुपक्षीय मञ्चमा प्रतिनिधित्व एवं संलग्नता सक्रिय र अर्थपूर्ण रहेको दाबी गरिएको छ।

प्रतिक्रिया