कांग्रेस बरियताक्रममा फेरि उल्झन ? को, कता पुग्लान् ?


काठमाडौं – नेपाली कांग्रेसको बरियतामा फेरि उल्झन देखा पर्ने भएको छ । शनिबार सभापति शेरबहादुर देउवाले १० जना नेतालाई केन्द्रिय समिति सदस्यमा मनोनयन गरेसँगै यसअघि घोषणा गरिएको बरियताक्रम परिवर्तन हुने भएको हो ।

पार्टी सभापति देउवाले १४ औं महाधिवेशनको निर्वाचनको मतगणनापछि निर्वाचित भएका १३५ जनालाई तोक्दै बरियताक्रम घोषणा गरे पनि आजको मनोनयनपछि बरियता फेरी फेरिने पक्का भएको हो ।  शनिबार मनोनित भएका १० जना नेपाली कांग्रेसका बरिष्ठ नेतादेखि सभापति, उपसभापति, महामन्त्री पदका लागि उम्मेदवारी दिएर पराजित भएका नेताहरु केन्द्रीय सदस्यमा परेका छन् ।

पछिल्लो बरियताक्रमको विवाद नसेलाउँदै नयाँ केन्द्रीय सदस्यहरु थपिएपछि कांग्रेसमा बरियता विवाद फेरि उल्झने देखिएको हो ।

सभापतिमा पराजित शेखर कोइरालालाई २० औं बरियतामा लगेको विरोध गर्दै आएकाहरुले रामचन्द्र पौडेललाई कतिऔं बरियतामा राख्ने हुन् ? कांग्रेस राजनीतिमा सायद शनिबार मनोनित केन्द्रीय सदस्यहरु अधिकांश कोइरालाभन्दा बढी समयदेखि राजनीति गरेका वा पार्टीमा योगदान दिएका नेताहरु हुन् भन्नुमा अत्युक्ति हुँदैन ।

पार्टीमा योगदान र बरिष्ठताको आधारमा भन्ने हो भने देउवापछि पौडेललाई राखिनु पर्ने हो । तर विधानले पदाधिकारीलाई पहिलो बरियतामा राखेर अन्य नेताहरुलाई राख्नुपर्ने प्रावधानअनुसार यसअघिको बरियतामा केन्द्रीय सदस्यको शीर्षस्थानमा रहेका गोपालमान श्रेष्ठको अवस्था कता पुग्ने हो ?

अहिलेसम्म शेखरको मात्र बरियता विवादमा परेकोमा अब भने अन्य नेताहरुले बरियतामा प्रश्न उठाउन सक्ने सम्भावना देखिएको छ ।

कांग्रेस सभापति देउवाले अझै २५ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुपर्ने छ । यसअघि छुट्याइएको बरियतामा देखिएको विवादपछि देउवाले अब भने मनोनयन सकिएपछि मात्रै बरियताक्रम निकाल्ने सोचमा रहेको स्रोतले जनाएको छ ।

सभापति देउवाले शनिबार बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया