विश्वप्रकाश दाई झापाबाट बसाई सर्नुस्…


विश्वप्रकाश शर्मा । यो नाम सुनिने बित्तिकै पहिलोपटक सोचाईमा आउने हो कांग्रेसको भावी नेतृत्व । तर, अफसोच संघीय निर्वाचनदेखि पार्टी निर्वाचनमा पनि जहिले मिचाईमा परेका देखिए ।

लामोसमयदेखि पार्टीको प्रवक्ताका रुपमा काम गर्दै आएका शर्मालाई यसपटक पक्कै पनि सभापति शेरबहादुर देउवाले महामन्त्रीको पहिलो उम्मेदवार बनाउँछन् भन्ने सबैको अनुमान थियो । तर, त्यो फगत कल्पनामै सिमित रह्यो ।

अन्तिम समयमा आएर विश्वप्रकाशका साथ आफ्नै जन्म जिल्लाका बरिष्ठ नेता कृष्णप्रसाद सिटौला ‘सौता पस्दा’ महामन्त्रीबाट मात्र नभई संस्थापन प्यानलबाट नै आउट भए ।

पटक–पटक ‘आफ्नै’का कारण धोका ब्यहोरिरहेका प्रखर वक्ता अनि नेपाली कांग्रेसको विचारका पक्का पक्षधर शर्माले पुनः एकपटक अर्को धोका पाएका छन् ।

सभापति देउवाले जुन कामका लागि प्रवक्ताको जिम्मेवारी दिएका थिए तर, अन्तिममा आएर फेरि धोका दिए । संस्थापन इतरका नेताहरुले छलफल गर्दै गुट बनाइरहँदा आफ्नो सभापतिको पद धरापमा पर्ने डरले देउवाले उनै शर्माका लागि प्रतिपक्षीको भूमिका खेल्ने उनै सिटौलाको शरण परे । आफूविरुद्ध इतरसमूहले बलियो गठबन्धन गर्ने डरले अघिल्लो महाधिवेशनमा आफैविरुद्ध उभिएका सिटौलाको काखी च्यापे । अनि सिटौलाले ‘बार्गेनिङ’ गरे उनै विश्वप्रकाशका लागि उपयुक्त महामन्त्रीको पद ।

संसदीय निर्वाचनदेखि लिएर पार्टी राजनीतिमा विश्वप्रकाश झापामा जहिले पिल्सिएका छन्, त्यो पनि उनै सिटौलाबाट । सायद सिटौलालाई थाहा भएको हुनसक्छ भावी दिनमा उनै शर्मा आफ्नो राजनीतिक प्रतिस्पर्धी बन्छन् अनि पछाडी पार्छन् भनेर । सकेको भए सायद विश्वप्रकाशलाई सिटौलाले प्रतिनिधिमै हराउने प्रयास गर्थे होला, तर त्यो सम्भव भएन । र सफल भए, कार्यकर्ताबीच लोकप्रिय शर्मालाई पछार्नका लागि केन्द्रका सर्वाधिक शक्तिशाली व्यक्तिलाई हातमा लिन ।

यसबाट सिटौलाले ठूलो जित हात पारेका छन् । जारी महाधिवेशनमा आफ्ना महामन्त्रीका उम्मेदवारले हारे भने पनि सिटौलाले जितेका छन्, विश्वप्रकाशलाई संस्थापनबाट बाहिर पठाएर । त्यो सिटौलाले महाधिवेशनको दोस्रो दिनमै पाएको ठूलो जित हो । यसमै सिटौला खुशी होलान्, यसमै रमाउलान् ।

सधैं यस्तै हो भने विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको नेतृत्व र मुलुकको नीति निर्माणको तहमा आएर काम गर्ने अवसर पाउनका लागि झापा छोड्नुपर्ने देखिएको छ । शायद उनलाई झापाबाहेककाले भोट दिने अवसर पाए भने पक्कै जिताउँछन्, चाहे ती कांग्रेस हुन् वा अरु दलका मतदाता । देश अनि पार्टीको लागि उनी जत्तिको व्यक्ति नेतृत्वमा आउनुपर्छ भन्ने सबैलाई लागेको छ ।

आम सर्वसाधारणको नजरबाट हेर्दा विश्वप्रकाशसँगै लडेका अन्य उम्मेदवार उनीसँग तुलना गर्न शायदै मिल्नेछन् । कांग्रेस महामन्त्रीका लागि अहिलेका सबैभन्दा उपयुक्त पात्र भनेका शर्मा र अर्का उम्मेदवार गगन थापा हुन् । यी दुई बाहेक अन्यले कतिपय ‘कृपा’को आधारमा उम्मेदवारी दिए र कतिपयले ‘कोटा’ पुर्याउनुपर्ने भएकाले उम्मेदवारी दिए  अनि कतिले रहरले ।

नेपाली कांग्रेसका चार हजार बढी प्रतिनिधिहरुले विवेक प्रयोग गर्नुपर्ने बेला देखिएको छ । नेपाली कांग्रेसको भावी नेतृत्वले मुलुकलाई विकासोन्मुख मुलुकबाट विकासशील मुलुकमा पुर्याउनुपर्नेछ । देशमा देखिएका विसंगतीहरुको निराकरण गर्नुछ, भ्रष्टाचारको अन्त्य गर्नुछ, विकासका लहर ल्याउनुछ । त्यसका लागि सबैभन्दा उपयुक्त पात्रको खोजी गर्नुछ ।

संस्थापन वा पार्टी भनेर मात्र नभई पार्टीभित्रैका राम्रा उम्मेदवार को हुन् भनेर चिन्नु आवश्यक छ । लाखौं कार्यकर्ताहरुबीचबाट छानिएर महाधिवेशन प्रतिनिधिका रुपमा भोट दिने अधिकार लिएर आउँदै गर्दा तिनै कार्यकर्ताको विचारलाई प्रतिनिधित्व गर्न सक्ने नेतृत्व चयन गर्नुपर्नेछ । आखिर सबै उम्मेदवार कांग्रेस नै हुन्, त्यसैले राम्रो र भविष्यमा पार्टीका साथै मुलुकको हितमा काम गर्ने कांग्रेसलाई जिताउनुहोस् ।

प्रतिक्रिया