आमा गाउने, छोरी नाच्ने


काठमाडौं– गायिका अन्जु पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पन्तकै स्वरमा रहेको गीत गीतकार सुरेश वाग्लेले रचना गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ । परितोषिकाका साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । १० वर्ष अघि रचित प्रेमिल शब्दले भरिएको गीत निकै उत्कृष्ट बनेको गायिका पन्त बताउँछिन् । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ ।

गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । फिल्म तथा थुप्रै म्युजिक भिडियोमार्फत आफ्नो कामको अब्बलता प्रस्तुत गर्दै आएका खड्काले पहिले जस्तै गायिका पन्तसङ्ग  र छोरी परितोषिका पन्तसँगको कामलाई पनि दर्शक तथा स्रोताले मन पराईदिनु हुनेमा विश्वास व्यक्त गरे ।

यता, नयाँ प्रतिभाको रूपमा अभिनय यात्रा प्रारम्भ गरेकी परितोषिका पन्तले आफूलाई ममीको अरू गीतमा पनि अभिनयको ‘अफर’ आएको तर यो गीत निकै मन परेको कारणले यसमा काम गरेको बताइन् । उनले आफ्नो नयाँ काम अनि नयाँ भिडियो हेरेर लागेको सल्लाह सुझाव र प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । आमा अन्जु पन्त, रचनाकार सुरेश वाग्ले, निर्देशक निकेश खड्का, को–एक्टर कुन्साङ बोम्जन लगायत सम्पूर्ण टिमको सामूहिको हौसलाकै कारण उत्कृष्ट भिडियो बजारमा ल्याउन सफल भएको भन्दै सहयोगी सम्पूर्णप्रति आभार प्रकट गरिन् । यस्तै मोडेल कुन्साङले पनि गायिका पन्तसहितको टिमसँग काम गर्न पाउँदा खुसी लगेको बताए । उनले आफ्नो कामलाई दर्शक स्रोताले मन पराइदिनु हुनेमा विश्वास समेत व्यक्त गरे ।

गीतको भिडियोलाई गायिका अन्जु पन्तको अफिसियल ‘युट्युब च्यानल’, ‘अन्जु पन्त अफिसियल’ मार्फत हेर्न सकिनेछ ।

प्रतिक्रिया