को बन्ला गुप्तचर विभागको नयाँ प्रमुख?

दुईजनाको नाम चर्चामा, २३ पुसमा अधिकारीले अवकाश पाउँदै


काठमाडौं – राष्ट्रिय अनुसन्धान विभाग देशको एकमात्र आन्तरिक तथा बाह्य गुप्तचरी निकाय हो। गुप्तचर विभागको प्रमुख छन् गणेश अधिकारी। २३ पुस २०७५ मा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले अधिकारीलाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गरेको थियो।

अधिकारीअघि विभागका प्रमुख थिए दिलिप रेग्मी। अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा कार्यरत रहँदा अधिकारीको कार्यकाल सकिन एक महिना बाँकी थियो। तर, त्यतिबेला ओली सरकारले रेग्मीलाई हटाएर अधिकारीलाई विभागको नयाँ प्रमुखमा नियुक्त गरेको हो।

उनै अधिकारीको ३ वर्षे नियमित कार्यकाल आगामी २३ पुसमा सकिँदैछ। अधिकारीको कार्यकाल सकिन लागेपछि प्रधानमन्त्री कार्यालय मातहत रहेको गुप्तचरको नयाँ प्रमुख अर्थात मुख्य अनुसन्धान निर्देशक नियुक्तीको लागि गृहकार्य भएको छ।

अधिकारीले अवकाश पाउने दिन नजिक भएसँगै उनको ठाउँमा सरकारले नयाँ प्रमुख नियुक्तीको तयारी थालेको हो। गुप्तचर विभागमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमध्येबाट मुख्य अनुसन्धान निर्देशक नियुक्त हुनेछन्।

गुप्तचरमा हाल दुईवटा अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको दरबन्दी छ। जसमध्ये एउटा दरबन्दी फाजिलको हो। अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा यदुलाल खरेल र यादव प्रसाद रेग्मी छन्।

तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघमा एउटा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक दरबन्दी थपेको थियो। थपेको दरबन्दीसँगै अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको दरबन्दी दुईवटा भयो।

त्यतिबेला थपेको दरबन्दीमा देउवा सरकारले रेग्मीलाई बढुवा गर्दै प्रदेश समन्वय महाशाखामा पदस्थापना गरेको थियो। त्यसको एक महिनामै देउवा सरकारबाट हटे। देउवापछि ओली प्रधानमन्त्री बने।

देउवा सरकारले थपेको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको दरबन्दी ओली सरकारले कटौती गर्ने निर्णय गर्यो। रेग्मीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकबाट अनुसन्धान निर्देशकमा घटुवा गरियो।

तर, रेग्मीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गए। सर्वोच्च अदालतले रेग्मीलाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा बहाल राख्न सरकारलाई निर्देशन दियो। त्यसपछि उनी अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको रुपमा कायम रहे, अहिलेसम्म छन्।

तर रेग्मीभन्दा खरेल अगाडि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएका हुन्। बरियताक्रममा खरेल अगाडि छन् भने रेग्मी पछि छन्। त्यसैले गुप्तचर विभागमा अधिकारीको उत्तराधिकारी बन्ने सम्भावना खरेलको बलियो छ।

प्रधानमन्त्री कार्यालय निकट स्रोतले दिएको जानकारीअनुसार खरेललाई जिम्मेवारी दिने निष्कर्शमा सरकार पुगेको छ। हालका प्रमुख अधिकारीले पनि खरेललाई नै प्रमुख बनाउनुपर्ने पक्षमा रहेको बताइन्छ।

हाल खरेल प्रशासन विभाग प्रमुखको रुपमा कार्यरत छन्। खरेल गुप्तचर विभागको प्रमुखमा नियुक्त भएपनि सात महिना मात्र जिम्मेवारी सम्हाल्नेछन्। हालका गुप्तचर प्रमुख अधिकारीका ब्याचमेट हुन् खरेल।

यस्तै अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रेग्मी पनि आफूलाई पूर्ववर्ती सरकारले अन्याय गरेको भन्दै प्रमुख बन्न लबिङमा लागेका छन्। रेग्मी पनि हालका प्रमुख अधिकारीकै ब्याचमेट हुन्।

खरेल र रेग्मीमध्ये जो प्रमुख भएपनि छोटो समयको लागि हुने भएकाले उनीहरुपछि हुने नयाँ प्रमुखको लागि पनि अहिलेदेखि नै दौड सुरु भएको छ। जसको लागि गुप्तचर विभागका ९ जना अनुसन्धान निर्देशकहरु दौडमा छन्।

हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, कुलदिप थापा, हरिहर पौडेल, सुनील ढकाल, प्रकाश पाण्डे, सुमन वैद्य अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको लागि लबिङ गरिरहेका छन्। यिनीहरुमध्ये जो अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुन्छन् उसले गुप्तचर विभागको कमाण्ड सम्हालने अवसर पाउँछन्।

त्यसमध्ये हुतराज थापाको प्रबल सम्भावना रहेको छ। किनकि थापा सह–अनुसन्धान निर्देशकबाट अनुसन्धान निर्देशकमा बढुवा हुँदा एक नम्बरमा छन्। बरियताक्रम अनुसार सरकारले नियुक्ती दिएको अवस्थामा थापाको सम्भावना देखिएको छ।

त्यस्तै टेकेन्द्र कार्की पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुन आफू बलियो रहेको बताउँदै आएका छन्। बरियतामा अगाडि नरहेपनि कार्कीलाई कर्णाली प्रदेशका कांग्रेस सभापति ललितजंग शाही र कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको साथ छ।

कमाण्डिङ क्षमता राम्रो भएको कारण कार्कीको पनि सम्भावना प्रबल रहेको बताइन्छ। हाल कार्की कर्णाली प्रदेश प्रमुख रहेका छन्। यस्तै ओम जोशीको पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा हुने सम्भावना छ।

हाल प्रदेश दुईमा कार्यरत रहेका जोशीको घर सुदुरपश्चिम हो। प्रधानमन्त्री शेरबहादुर देउवाको समेत घर सुदुरपश्चिम डडेल्धुरा भएको कारण केसीको पनि सम्भावना देखिन्छ। विभागमा जोशीलाई पनि सक्षम र व्यवसायिक अधिकारीका रुपमा हेरिन्छ।

यस्तै उनीहरुपछि हरिहर पौडेल, कुलदिप थापा, सुनील ढकाल, प्रकाश पाण्डे र सुमन वैद्य पनि अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बन्ने दौडमा छन्।

हुतराज थापा सुदुरपश्चिम प्रदेश, प्रकाश पाण्डे १ नम्बर प्रदेश, टेकेन्द्र कार्की कर्णाली प्रदेश, सुमन वैद्य गण्डकी प्रदेश, हरिहर पौडेल बागमति प्रदेश, ओम जोशी २ नम्बर प्रदेश र सुनील ढकाल लुम्बिनी प्रदेशमा कार्यरत छन्। त्यस्तै कुलदिप थापा कन्ट्रोलमा रहेका छन्।

गणेश अधिकारीको कार्यकाल कस्तो रह्यो?


अधिकारीको कार्यकालमा सुधारका धेरै काम भएको र संगठनको भूमिका प्रभावकारी भएको गुप्तचरकै अधिकारीहरु बताउँछन्। उनी गुप्तचर प्रमुख बनेदेखि खासै विवादमा समेत आएको छैनन्। औसतमा उनको कार्यकाल ठिकै रह्यो।

इमान्दर अधिकृतको छवि बनाएका अधिकारीको कार्यकाल औसतभन्दा माथि उठ्न सकेन। कतिपय बढुवा सरुवामा उनी चुके। यद्यपि कर्मचारीलाई साधन स्रोत सम्पन्न गराउने प्रयास गरे। समग्रमा उनको कार्यकाल मध्यम रहेको अधिकारीहरु बताउँछन्।

केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धन सरकार बनेपछि पहिले गृह मन्त्रालय अन्तरगत रहेको विभागलाई प्रधानमन्त्री मातहत ल्याइएको हो। देशभित्र र बाहिर रहेका नेपाली दुतावासमा गरी विभागका २३ सय अधिकारी कार्यरत छन्।

विगतमा गृहमन्त्रालय अन्तरगत रहँदा राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्री आवद्ध पार्टीका कार्यकर्ता भर्ती गर्ने अखडा बनेको आरोप लाग्ने गरेको थियो। देशको एक मात्र गुप्तचर विभाग पंगु हुन पुग्दा सरकारका लागि आवश्यक गोप्य सूचनाकै अभाव हुने गरेको सरकारकै निकायहरु स्वीकार गर्छन्।

प्रतिक्रिया