ओमिक्रोन संक्रमण छ कि छैन कसरी थाहा पाउने ?


काठमाडाैं – कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिअन्टलाई त्यहाँका वैज्ञानिकहरूले सम्भावित चिन्ताको विषय मानेका छन्।

दर्जनौँ देशमा कोरोनाभाइरसको यो नयाँ प्रकार फैलिसकेको छ।

तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागु वा कडाइ गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन्।

 

ओमिक्रोन पत्ता लगाउन कुन परीक्षण गरिन्छ?

सामान्यतया पीसीआर परीक्षणका लागि लिइएको नाक तथा घाँटीको स्वाब विश्लेषणका लागि प्रयोगशाला पठाइन्छ। पीसीआर विधिले मानिसमा कोरोनाभाइरस सङ्क्रमण छ कि छैन भनेर हेर्छ।

प्रयोगशालाअनुसार केहीले कोरोनाभाइरसको निश्चित भेरिअन्ट – जस्तै, डेल्टा वा ओमिक्रोन – पनि किटान गर्न सक्छन्।

केही प्रयोगशालामा मात्र भेरिअन्ट पहिचान गर्न आवश्यक प्रविधि हुन्छ।

संयुक्त राज्य अमेरिका विश्वमा पीसीआर परीक्षण गरिने सङ्ख्यामा अग्रपङ्क्तिमा आउँछ। त्यसपछि यूके, रुस, जर्मनी, इटाली र दक्षिण कोरियामा धेरै मात्रामा पीसीआर परीक्षण हुन्छ।

भारतको हकमा परीक्षणको लागि पठाइएको कुल नमुनाको एक प्रतिशत मात्र डेल्टा वा ओमिक्रोनजस्ता भेरिअन्ट किटान गर्न प्रयोग हुन्छ।

 

ओमिक्रोन विश्वभरि फैलिएको कसरी थाहा हुन्छ?

ओमिक्रोनको आशङ्का गरिएको र नतिजामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको पीसीआर परीक्षणको स्वाब ‘जीन सीक्वन्सिङ‘ भनिने पूर्ण आनुवंशिक विश्लेषणका लागि प्रयोगशालामा पठाइन्छ।

यसरी गरिएको परीक्षणले केही मानिसहरू वास्तवमै यो नयाँ भेरिअन्टबाट सङ्क्रमित रहेको पुष्टि गरेको छ। भाइरसको आनुवंशिक तत्त्वको प्रयोगशालामा गरिने यस्ता विश्लेषणहरू नयाँ भेरिअन्ट पत्ता लगाउन र तिनले कस्तो व्यवहार गर्छन् भन्ने पहिल्याउन महत्त्वपूर्ण हुन्छन्।

यस्तो परीक्षण गर्न दुई साताजति लाग्ने भएकाले ओमिक्रोनबाट भएका धेरै सङ्क्रमणहरू पहिचान भएका छैनन्।

दक्षिण अफ्रिकामा पुष्टि भएका ओमिक्रोन सङ्क्रमितमध्ये झन्डै ९० प्रतिशत एउटै प्रान्तका मानिस हुन्।

प्रारम्भिक रूपमा यो भेरिअन्ट यूरोपमा फैलिएको हुनसक्छ। पोर्चुगल, नेदरल्यान्ड्स, र यूके प्रत्येक देशमा एक दर्जनभन्दा बढी सङ्क्रमित फेला परेका छन्।

यद्यपि यी सङ्ख्याले कुन देशमा ओमिक्रोन भेरिअन्टको सङ्क्रमण बढी छ भनेर जनाउँदैनन्। बरु कुनकुन देशले छिट्टै यसको पहिचान गरे भन्ने सङ्केत गर्छन्।

ओमिक्रोन

के आरडीटी विधिले ओमिक्रोन पत्ता लगाउँछ?

घरमै गर्न सकिने आरडीटी विधिको परीक्षणले कुन भेरिअन्टको सङ्क्रमण छ भन्ने किटान गर्दैन।

तर सङ्क्रमण छ वा छैन पहिल्याउन यो विधिलाई प्रभावकारी मानिन्छ।

 

के हुन् ओमिक्रोनबाट सङ्क्रमण हुँदाका लक्षणहरू?

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्।

दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।

दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका छन्। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन्।

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ‘बूस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ। -बीबीसी

प्रतिक्रिया